किसानलाई इन्धन पाउनै गाह्रो

35

नेपालगन्ज, मंसिर २५–
थ्रेसरका लागि आवश्यक पर्ने डिजल नपाउँदा हिरमिनियाका किसान रामशंकर मिश्रले यतिखेर धान स्याहार्न पाएका छैनन् । काटेको लामो समय भइसक्दा पनि उनले इन्धन अभावका कारण घरभित्र धान भित्र्याउन नपाएका हुन् । ‘धान काटेर अहिले सम्म खलियानमै थुपारेको छु, थे्रसरबाट दाउन खोज्दा तेल पाइन्न,’ मिश्रले भने । इन्धन नपाउँदा गाउँका अधिकांस किसानले यतिखेर तनाव खेप्नु परेको उनले सुनाए । मिश्र जस्तै बेलहरी–२ का होमराज कुर्मीले पनि इन्धन नपाउँदा यसवर्ष ठुलो समस्या खेपे । इन्धन नपाउँदा सिचाई गर्न नपाएर आफ्नो करिव १० कठ्ठा जमिन उनले बाँझै छाडेका छन् । २५ कठ्ठा जमिन मध्ये उनले १० कठ्ठामा मात्र गहुँ छरेका छन् । ‘बाँकी रहेको जमिन बाँझै छाडेको छु,’ उनले भने ‘छरेको गहुँलाई पनि सिचाई गरेर हुर्काउन समस्या देखिदैछ ।’

संविधान निर्माणमा असन्तुष्टी जनाउँदै भारतले गत असोजको पहिलो हप्ताबाट नाकाबन्दी लगायो । नाकाबन्दीले आपुर्ती पर्याप्त मात्रामा हुन नसकेपछि बजारमा इन्धन संकट निम्तियो । पहुँच हुनेले पम्पबाट इन्धन लिएर आफ्नो व्यवस्था गरिरहेका बेला किसानको हकमा बेवास्ता गरिएको कुर्मी बताउँछन् । इन्धन नपाउँदा किसानको अवस्था नाजुक बनेको उनले बताए । गहुँ, मसुरो छर्दा पम्पसेटबाट आवश्यकता अनुसारको सिचाई गर्न नपाएको, धान दाउन नसकिएको, जोत्न नपाएर खेत बाँझै हुने जस्ता समस्या सिर्जना भइरहेको कुर्मीले बताए । ‘हामी किसानले तेल पाउँदैनौ, तर नेताका घरमा तेल फालाफाल छ,’ उनले थपे । इन्धन वितरणका क्रममा जिल्लामा अनियमितता र अपारदर्शीता भएको भन्दै जिल्ला आपुर्ति समितिले कोटा र कुपन प्रणाली कार्यान्वयनमा ल्याएको छ ।

समितिले किसानलाई आवश्यक पर्ने इन्धन कृषि विकास कार्यालयको सिफारिसका आधारमा जिल्ला प्रशासनबाट कुपन लिने व्यवस्था गरेको छ । तर, सबै किसानले कृषि कार्यालयबाट सहज रुपमा इन्धन पाउन सक्दैनन् । ठुल्ठुला जमिनदारले मात्र किसानको नाममा इन्धनको कुपन लिने गरेको पीडित किसानको दुखेसो छ । ‘किसानलाई हप्तामा २५ लिटर मात्र तेल दिने गरिएको छ, यसले हामीलाई जोत्ने, दाउने र सिचाई गर्न पुग्दैन,’ एक किसानले भने ।

Womui
Womui