राष्ट्र बैंकद्धारा संविधान झल्किने सिक्काको डिजाइन

28

काठमाडौं, मंसिर २५–
नेपाल राष्ट्र बैंकले नयाँ संविधान झल्किने सिक्का ल्याउन डिजाइन तयार पारेको छ । उक्त सिक्का निष्कासनका लागि डिजाइन तयार भएको केन्द्रीय बैंकले बताएको छ । राष्ट्र बैंकको गत भदौ ४ गते बसेको सञ्चालक समिति बैठकले नयाँ संविधानको खुसीयालीमा दुई हजार र एक सय रुपैयाँ अंकित दरका सिक्का निष्कासन गर्ने निर्णय गरेको थियो । सोही अनुसार सिक्का निष्कासन गर्न लागिएको राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बताए। ’सिक्का निष्कासनको प्रक्रियामा रहेको छ, छिट्टै नै नयाँ संविधान झल्किने सिक्का आउँछ,’ उनले भने । केन्द्रीय बैंकले सिक्काको डिजाइन तयार पार्न एक कमिटी गठन गरेको थियो ।

नेपाल राष्ट्र बैंकले गर्भनर चिरञ्जीवी नेपाल, सत्यमोहन जोशी लगायत व्यक्ति रहेकोे डिजाइन कमिटी गठन गरेको थियो । दुई हजार रुपैयाँ दरको सिक्का चाँदीको हुनेछ । दुई हजार दरका सिक्का पाँच हजार थान निष्कासन गर्ने प्रवक्ता पंगेनीले बताए । यसै अवसरमा राष्ट्र बैंकले सय रुपैयाँ दरको क्युप्रोनिकेल धातुको स्मारिका सिक्कासमेत निष्कासन गर्दैछ । सय रुपैयाँ दरका धातुका सिक्का २० हजार थान निकाल्ने योजना छ । ऐतिहासिक दिनको सम्झनामा दुई हजार र सय रुपैयाँ अंकित दरका सिक्का निष्कासन गर्ने घोषणा यसअघि नै गरिसकिएको पंगेनीले बताए । सिक्का निष्कासनका लागि राष्ट्र बैंकको सुन्धारास्थित टक्सार विभागलाई निर्देशन दिइसकेको पंगेनीले जानकारी दिए ।

Womui
Womui