मध्यपश्चिमका मानव अधिकार रक्षक असुरक्षित

100

नेपालगन्ज, मंसिर २२–
मध्यपश्चिम क्षेत्रका मानव अधिकार रक्षकको अवस्थाबारे मानव अधिकारकर्मीबीच छलफल भएको छ । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालयमा भएको छलफलमा उपस्थित सहभागिले मानव अधिकार रक्षकका चुनौती र असुरक्षालाई न्यूनिकरण गर्न मानव अधिकार रक्षकको कर्तव्य, अधिकार र आचार संहिताका बारेमा क्षेत्रीय तहमा अभिमुखीकरण कार्यक्रम गर्न आवश्यक रहेको सुझाव दिए ।  पछिल्लो समयमा मानव अधिकार रक्षकहरू आन्दोलनरत पक्ष, सरकारी निकाय र अन्य विभिन्न पक्षबाट असुरक्षित रहेको समीक्षा गर्दै निस्कर्ष निकालिएको छ ।

मानव अधिकार रक्षक र संचारकर्मीलाई प्रभावकारी प्रदर्शन अनुगमनका लागि अनुशिक्षण गर्नुपर्नेमा सहभागिले जोड दिए । छलफलमा उठेका सवालका विषयमा राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले आयोगमाथि र अन्य मानव अधिकार रक्षकमाथि आक्रमण भएकोबारे आयोग केन्द्रीय कार्यालयमा प्राथमिकताका साथ उठाउने प्रतिवद्वता जनाए । सो अवसरमा इन्सेक केन्द्रीय कार्यालयका वरिष्ठ अधिकृत मदन पौडेलले आयोगले आफ्नो सुरक्षाका साथै अन्य मानव अधिकार रक्षकको सुरक्षाका सवाललाई पनि प्राथमिकताका साथ उठाउनुपर्ने सुझाव दिए । इन्सेकका क्षेत्रीय संयोजक भोला महतले मानव अधिकार रक्षकबीच समान बुझाईको अभाव रहेको बताउँदै मानव अधिकार रक्षकको भूमिकाका बारेमा संयुक्त रुपमा गाउँ–गाउँमा सचेतना कार्यक्रम गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा अन्य सहभागिले मानव अधिकार रक्षक आन्तरिक र बाह्य पक्षबाट असुरक्षित रहेको बताए । उनले पूर्व तयारीका साथ संयुक्त अनुगमन गर्नुपर्ने सुझाव दिए । आयोगका कर्मचारीमाथि आक्रमण हुँदा आयोगले समयमा नबोल्दा आयोग लगायत अन्य मानव अधिकार रक्षक पनि थप असुरक्षित रहेको उपस्थित मानव अधिकारकर्मीले समीक्षा गरेका थिए । छलफल कार्यक्रममा इन्सेक, सिविन, फातिमा फाउण्डेसन, हिमराइट्स, एडभोकेसी फोरम, मानव अधिकार एलाइन्स, पुनरावेदन अदालत बार एशोसियसन, पत्रकार महासंघ, आइएचआरसी लगायतका संघ, संस्थाका प्रतिनिधि सहभागि थिए ।

Womui
Womui