प्रहरीकै अगाडी खुलेआम इन्धन तस्करी

46

बुटवल, मंसिर २०–
रूपन्देही, बेलहिया नाकाको दुई किलोमिटर दुरीमा सशस्त्र प्रहरी बलको राजस्व गुल्म छ । यही गुल्मदेखि बेलहिया नाकासम्म मूल तथा भित्री सडकमा झोले व्यापारीहरू बोतल, ग्यालेन र ड्रममा पेट्रोलियम पदार्थ बिक्रीका लागि ग्राहक कुरिरहेका देखिन्छन् । कोटियामाई मन्दिर पूर्वपट्टिको खुला भागबाट पनि साइकल, ठेला र मोटरसाइकलमा तस्करी गर्नेको लस्कर बिहानदेखि साँझ अबेरसम्म चल्ने गरेको छ । ‘कहिलेकाहीँ एसएसबीले अवरोध गर्छ, त्यस्तो बेला भारतीय नम्बरप्लेटका मोटरसाइकलमा पेट्रोल भर्दै बेलहिया ल्याएर खनाइन्छ । तर, यसरी हुने पेट्रोलको ओसार–पसार झन्झटिलो हुने भएकाले सकेसम्म एसएसबीलाई मिलाएर काम हुँदै आएको छ,’ बेलहियामा पेट्रोलियम पदार्थ तस्करीमा संलग्न एक युवकले भने । यसरी खुलेआम तस्करी भइरहँदा पनि प्रहरी, प्रशासन बेखबरजस्तै छ । तस्करी रोक्न प्रशासनले चासो नदिएको उपभोक्ता आरोप लगाएका छन् ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल तस्करी र कालोबजारी नियन्त्रणका लागि प्रयास भइरहेको बताउँछन् । ‘केन्द्रको निर्देशनअनुसार तस्करी र कालोबजारी नियन्त्रणका लागि पहल गरिरहेको छु,’ उनले भने । तस्करीमा सीमावर्ती क्षेत्रका भारतीय र नेपालीको संलग्नता रहेको प्रहरी अधिकारी नै बताउँछन् । स्रोतका अनुसार तस्करले सीमापारिका पेट्रोलपम्पबाट राति पेट्रोल भर्ने र दिनमा सीमा पार गर्ने गरेका छन् । भारतीय सीमा सुरक्षा बल एसएसबी र प्रहरीसँग मिलेर इन्धन नेपाल भित्र्याइरहेको तेल कारोबारमा संलग्न व्यवसायी बताउँछन् । भारतीय प्रहरीले ५० देखि ५ हजार भारू लिएर छोड्ने गरेको बेलहियाका एक कारोबारीले बताए । कारोबारीका अनुसार सीमावर्ती भारतीय बजारबाट ५० र एक सय लिटरका ग्यालेन र ड्रममा ल्याइएको इन्धन एक हजार लिटरको ड्रममा खन्याएर अन्यत्र पठाइने गरेको छ । दुई महिनादेखि यही धन्दामा संलग्न ती युवाले अहिले दैनिक ५० हजार लिटर पेट्रोलियम नाकाबाट अवैध रूपमा भित्रिरहेको जानकारी दिए । आजको नागरिकमा खबर छ ।

Womui
Womui