घाईते पत्रकारलाई महासंघको सहयोग

45

नेपालगन्ज, मंसिर १५–
आन्दोलनका क्रममा गोली लागेर घाईते भएका सुर्खेतका पत्रकार आईसिंङ रोकायलाई नेपाल पत्रकार महासंघले उपचार सहयोग रकम दिएको छ । अखण्ड मध्यपश्चिमको पक्षमा आन्दोलन चलिरहेका बेला स्थलगत रिपोर्टिङमा पुगेका बुलबुले एफएम सुर्खेतमा कार्यरत पत्रकार रोकाय प्रहरीको गोली लागि घाईते भएका थिए । पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले मंगलबार नेपालगन्जमा एक समारोहका बीच घाईते पत्रकार रोकायलाई १ लाख २ हजार ७ सय रुपैयाँ हस्तान्तरण गरे ।

सो अवसरमा बोल्दै महासंघका अध्यक्ष विष्टले सामाजिक सदभावमा असर हुन नदिन र राष्ट्रिय एकतालाई मजवुद गराउन पत्रकार र सञ्चारमाध्यमको भुमिका महत्वपुर्ण हुने बताए । तराईमा जारी आन्दोलनका बेला थुप्रै पत्रकारलाई आक्रमण, धम्की र कुटपिट भएको उनको भनाई छ । महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीको सभापतित्वमा कार्यक्रममा महासंघका केन्द्रिय कोषाध्यक्ष सुर्यमणि गौतम लगायतले बोलेका थिए ।

Womui
Womui