१६ दिने अभियानकै बेला महिलाको हत्या

49

नेपालगन्ज, मंसिर १५–
सरकारी तथा गैर सरकारी संघ, संस्थाले ‘महिला हिंसा विरुद्धको १६ दिने अभियान’ तामझामका साथ मनाइरहेका बेला सदरमुकाममै महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय नजिकै नेपालगन्ज उपमहानगरपालिका–१ खजुरारोड निवासी २८ बर्षिया बदली काँदुलाई आफ्नै पति रामसागरले दिनदहाडै हत्या गरेका हुन् । दाउराको चिर्पटले हानेर हत्या गरेको अवस्थामा मृतकको शव मंगलबार दिउँसो घरमा फेला परेको हो । मृतकको टाउकोमा गम्भिर चोट लागेको छ । हत्या पश्चात ३५ बर्षिय रामसागर फरार भएका छन् । घटनामा संलग्न मृतकका पतिको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

कार्यालयका प्रवक्ता एवम डिएसपी भिमकिरण बोगटीले भने, ‘हत्या लगत्तै पति फरार भइसकेको छ,’ प्रहरीले उसको खोजी गरिरहेका छ ।’ हत्या लगत्तै फरार भएकाले उक्त घटनामा पति रामसागरकै संलग्नता रहेको उनले बताए । स्थानीय बासिन्दा र माइती पक्षका अनुसार मृतक महिला लामो समयदेखि पतिबाट हिंसामा पर्दै आएकी थिईन् । घरेलु हिंसाकै क्रममा रामसागरले पाँचवर्ष अघि पत्नीको खुट्टा भाँचिदिएका थिए । पत्नीसँग झै–झगडा गरी भागेर भारत पुगेका रामसागर करिव पाँच वर्ष त्यहाँ बिताएर एकवर्ष अघि मात्र घर फर्किएका थिए । मृतकका दुई छोरा छन् । मंगलबार दिउँसो छोराहरु स्कुलबाट घर आइपुग्दा आमाको हत्या भएको देखेको र प्रहरीले घटना थाहा पाएको बोगटीले बताए ।

Womui
Womui