रुपैडिहा नाका खुल्ने अनिश्चित

421

नेपालगन्ज, मंसिर १५–
दुई दिनदेखि बन्द रहेको रुपैडिहा नाका अझै खुलेको छैन । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएपछि असुरक्षाको कारण देखाउँदै भारतीय पक्षले मंगलबार बिहानबाट नाकामा ओहोर–दोहोर गर्ने ठुला सवारी साधन रोकेको हो । भारतीय सुरक्षाकर्मीको नाका अवरोधले नेपालतर्फ आउने पेट्रोलियम ट्यांकर, ट्रक तथा कन्टेनर रुपैडिहामा र भारततर्फ जान लागेका खाली ट्यांकर, ट्रक तथा कन्टेनर जमुनाहा क्षेत्रमा अलपत्र परेका छन् ।

मंगलबार सुनसान बनेको रुपैडिहा नाका ।
मंगलबार सुनसान बनेको रुपैडिहा नाका ।

सवारी आवागमनमा भारतीय पक्षबाट अवरोध भएपछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीद्धय गन्जबहादुर एमसी र जगत बस्नेतले बिहान बहराइचस्थित समकक्षी(सहायक डिएम)सँग भेट गरी छलफल गरेका थिए । त्यसक्रममा बहराइचका सहायक डिएमले केन्द्रबाट नाका खोल्न आदेश नआउँदा सम्म आफुहरुले केही गर्न नसक्ने जवाफ दिएका थिए । बहराइच जिल्लामा निर्वाचन चलिरहेका बेला रुपैडिहा नाकामा नेपाली सुरक्षाकर्मी र आन्दोलनकारीबीच ढुंगा हानाहान हुँदा असुरक्षा महसुस गरेको उनले बताएका थिए ।

बहराइच जिल्लाको चुनावलाई मध्यनजर गर्दै मंगलबार दिनभर सवारी साधन आवात–जावतमा रोक लगाएपनि बुधबार नाका खोल्ने/नखोल्ने कुरा आफुले भन्न नसक्ने जवाफ दिएको सहायक प्रजिअ एमसीले जानकारी दिएका छन् । प्रहरीले नाका खुलाउन आन्दोलनकारीलाई हटाउने प्रयास गर्दा सोमबार बेलुका दसगजा क्षेत्रबाट उनीहरुले ढुंगामुढा सहित पेट्रोल बम समेत प्रहार गरेका थिए । पेट्रोल बम लागेर प्रहरी जवान सनत बस्नेत घाईते भएका थिए, भने मोर्चातर्फ पनि केही व्यक्ति घाईते भएका थिए । नाकाको दसगजा क्षेत्रमा मंगलबार पनि आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ता बसेका छन् ।

Womui
Womui