इन्धन अभावले सरसफाई अभियान प्रभावित

43

भगिरथ अवस्थी
बैतडी, मंसिर १०–
भारतको अघोषित नाकाबन्दीपछि उत्पन्न इन्धन अभावका कारण बैतडीमा सरसफाई अभियान प्रभावित भएको छ । शौचालय निर्माणका लागि आवश्यक पर्ने सामग्रीहरु बजारमा पाउन छाडेपछि अभियान प्रभावित भएको हो । जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले जिल्लालाई आगामी पुस १० गतेभित्र खुला दिशामुक्त घोषणा गर्ने लक्ष्य लिएपनि शौचालय निर्माणका लागि आवश्यक प्यानसिट, सरीया, सिमेन्ट लगायतका सामाग्री अभावले उक्त लक्ष्य प्रभावित हुने देखिएको छ । जिल्लाका ५६ ओटा गाविस मध्ये अहिले सम्म ३९ ओटा गाविस र पाटन नगरपालिका खुला दिशामुक्त घोषणा भइसकेका छन् ।

अधिकांश गाविसहरुले मंसीर मसान्तभित्र खुलादिशामुक्त घोषणा गर्ने मिति तय गरेका भएपनि शौचालय बनाउन बाँकी रहेका घरधुरीहरुमा सामाग्रीको अभावमा शौचालय निर्माण कार्य अवरुद्ध भएको खानेपानी तथा सरसफाईको क्षेत्रमा काम गरीरहेको स्वदेश संस्थाका कार्यक्रम संयोजक सुरेशदत्त भट्टले जानकारी दिए । शौचालय निर्माणका लागि आवश्यक सामाग्री बजारमा फाटट्फुटट पाइपनि मूल्य समेत आकासिएको उनले बताए । पाँच सय देखि ७ सयमा पाइने प्यानसिट अहिले लगभग २ हजारको हाराहारीमा बजारमा बिक्री भइरहेको कोटपेटराका सरसफाई कार्यकर्ता धर्मराज जोशीले बताए ।

शौचालय निर्माणका सामाग्रीको अभावसँगै भएका सामाग्रीको मूल्य आकासियपनि न्यून आर्थिक श्रोत भएका नागरिकलाई शौचालय निर्माण गर्न समस्या पैदा भएको छ । यसले सरसफाई अभियान नै प्रभावित भएको जोशीको भनाई छ । बजारमा सामाग्री उपलब्ध नभएपछि शौचालय घर निर्माण गरेकाले समेत प्यान सिट राख्न नपाएको सरसफाई अनुगमन समिति कोटपेटरका संयोजक कर्ण कुँवरले जानकारी दिए ।

Womui
Womui