उपभोक्ता ठगेपछि हरिओम पम्पमा सिल

39

नेपालगन्ज, मंसिर १०–
नेपालगन्जस्थित एक पम्पले उपभोक्तालाई ठग्दै कम परिमाणको इन्धन बेच्दै अएको खुलासा भएको छ । नेपालगन्ज उपमहानगरपालिका परसपुरस्थित हरिओम आयलले कम परिमाणको इन्धन बेचेको तथ्य फेला परेपछि जिल्लास्थित अनुगमन समितिले पम्पमा सिल गरेको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवम् बजार अनुगमन समितिका संयोजक जगत बस्नेतको नेतृत्वमा खटिएको टोलीले यस्तो तथ्य फेला पारेको थियो । पेट्रोलियम पदार्थको कालोबजारी बढेको जनगुनासो बढेपनि यसअघि अनुगमन समिति मौन रहदै आएको थियो ।

अनुगमन टोली पम्पमा पुगेर चेकजाँच गर्दा हरि ओम आयलले उपभोक्तालाई कम परिमाणको डिजल बिक्री गरेको फेला पारिएको संयोजक बस्नेतले जानकारी दिए । ‘तीन पटक डिजलको मात्रा मापन गर्दा प्रत्येक लिटरमा ८ एमएल कम भएको फेला पा¥यौं,’ उनले भने ‘यसलाई रकममा रुपान्तर गर्दा पम्पले प्रति लिटर ६५ पैसा उपभोक्तालाई ठगेको रहेछ ।’ पम्पको डिजल तथा पेट्रोल वितरण गर्ने ‘नोजल’ मा सिल लगाइएको सहायक प्रजिअ बस्नेतले बताए । ठगी गरेको आरोपमा पम्प सञ्चालकलाई कानुनी कारबाहीका लागि प्रक्रिया अगाडी बढाइएको छ । यस्तै नेपालगन्जका अन्य ४ वटा पम्पको नापतौल तथा गुणस्तरको अनुगमन गरिएको छ । जयबागेश्वरी आयल, कुसुम फिलिङ, मयंक ट्रेडिङ र रिलायन्स पम्पको अनुगमन तथा निरिक्षण गरिएको हो । ती पम्पहरुमा भने गुणस्तर तथा नापतौलमा फरक नभएको अनुगमन समिति संयोजक बस्नेतले जनाए ।

Womui
Womui