निलम्वित ईन्स्पेक्टर राठौरले लिखित र मौखिक माफी मागे

39

नेपालगन्ज, मंसिर ८–

निलम्वित ईन्स्पेक्टर भरतसिंह राठौरले अन्ततः लिखित र मौखिक रुपमा माफी मागेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा मंगलबार उनले सदभाव दैनिकका सम्पादक दामोदर भण्डारीसँग माफी मागेका हुन् । मदिराले मात्तिएका राठौरले गत शनिबार दिउँसो सुरुमा फोनबाट गाली गलौच र धम्की दिदै ‘म अहिले होटलमा रक्सी पिइ रहेको छु डिआईजी, एसएसपीलाई पक्राउ गर्न पठाइदे, मेरो जागिर खाईदिने तँलाई म ठिक पार्छु,’ भनेका थिए । फोनमा धम्की दिए लगत्तै सदभाव दैनिकको कार्यालयमै आएर उनले कार्यकक्षमा बसेका सम्पादक भण्डारीलाई ‘म जुवामा पक्राउ परेको समाचार किन लेखेको’ भन्दै ज्यान लिने धम्की दिएका थिए ।

जिल्ला प्रहरी प्रमुख(एसपी) वसन्तकुमार पन्त, पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी, अग्रज पत्रकारहरु श्रीराम सिग्देल, जनक नेपाल, गोपी बुढा, शुक्रऋषि चौलागाई, ठाकुरसिंह थारु, भेषराज बस्नेत लगायतको रोहवरमा निलम्वित ईन्स्पेक्टर राठौरले गल्ती स्वीकार गर्दै एकचोटीका लागि सुध्रिने मौका दिन विन्रमता पुर्वक अनुरोध गरे । सञ्चारगृहमै आएर राठौरले ज्यान लिने धम्की सहित आक्रमण प्रयास गरेकाले कानुनी कारबाहीका लागि सम्पादक भण्डारीले जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग लगायत निकायमा आइतबार लिखित निवेदन पेश गरेका थिए ।

Womui
Womui