जोखिमपुर्ण काममा लगाइएका बालश्रमिकको उद्धार

57

नेपालगन्ज, मंसिर ८–
कानुन विपरित काममा लगाइएका ४० जना बालश्रमिकलाई मंगलबार नेपालगन्जका विभिन्न स्थानबाट उद्धार गरिएको छ । यातायात साधन, होटल, स्टील तथा तामा उद्योग, सिरक डस्ना बनाउने पसल, मोटरसाईकल ग्यारेज, पान पसल लगायत स्थानबाट उद्धार गरिएको हो । बालश्रमिक उद्धार तथा व्यवस्थापन समितिले प्रहरी, श्रम कार्यालय, माईती नेपाल, सिविन नेपाल, मुक्त कम्लरी विकास मञ्च, रुसुफ, ल्याक लगायत संस्थाको सहकार्यमा बिहान ८ देखि दिउँसो करिव २ बजे सम्म बालश्रमिकको उद्धार गरेको थियो । जिल्ला वाल कल्याण समितिका तर्फबाट महिला तथा बालबालिका कार्यालयका सुचना अधिकारी विन्दु कुँवरले नेतृत्व गरेकी थिईन् । समितिले उद्धार गरिएका मध्ये ३१ जना बालश्रमिकलाई मंगलबार नै अभिभावकको जिम्मा लगाएको छ । अभिभावक सम्पर्कमा नआएका बाँकी ९ जना बालश्रमिकलाई सिविन नेपालको जिम्मा लगाइएको कार्यालयका सुचना अधिकारी कुँवरले जानकारी दिईन् । उनका अनुसार उद्धार गरिएका बालश्रमिक मध्ये ११ जना भारतीय रहेका छन् ।

balbalika

अझै ६ जना भारतीय बालश्रमिकलाई अभिभावकको जिम्मा लगाउन बाँकी रहेको छ । उनीहरुलाई बुधबार (आज) भारत, बहराईचस्थित देहात बाल हेल्पलाईनको जिम्मा लगाइने भएको छ । यस्तै २ जना दाङ र १ जना कोहलपुर चप्परगौडी निवासी बाल श्रमिक रहेका छन् । कानुनी रुपमा १४ वर्षभन्दा मुनिका बालबालिकालाई कुनैपनि श्रममा लगाउन पाईदैन । उद्धार गरिएका अधिकांस बालश्रमिक १४ बर्ष मुनिका रहेका छन् । बालश्रमिकको खोजीमा निस्केको टोली धम्बोझी, फुलटेक्रा, अस्पताल रोड, गणेशमान चोक, विपी चोक, गुरुद्धारा रोड लगायत स्थानमा पुगेको थियो । यसवर्ष पहिलो पटक छापा मारेर जिल्लामा बालश्रमको उद्धार तथा व्यवस्थापनको काम सुरु गरिएको जानकारी दिदै कुँवरले भनिन् ‘अब हामीले बालश्रम नियन्त्रण अभियानलाई निरन्तरता दिदै जानेछौं, बालश्रमिकलाई उद्धार गर्ने मात्र नभएर काममा लगाउने व्यक्ति र संस्थालाई पनि मुद्दा चलाउँछौ ।’ अबको केहीदिनमा काम गर्न बसेका कम्लरी र यातायातका साधनमा काम गर्ने बाल श्रमिकलाई उद्धार गर्ने समितिको योजना छ । ‘हामीले क–कसको घरमा कम्लरी राखिएको छ, त्यसको सबै लिष्ट पाइसकेका छौ, हाम्रो ध्यान अब त्यतातिर जानेछ,’ महिला तथा बालबालिका कार्यालयका सुचना अधिकारी कुँवरले भनिन् ।

गरिवी र अशिक्षाका कारण अभिभावकले नै बालश्रममा लगाउने गरेको पाइएको उद्धारकर्मीले बताएका छन् । माईती नेपाल नेपालगन्जका संयोजक केशव कोईरालाले मंगलबार उद्धार गरिएका अधिकांस बालश्रमिकको परिवारमा गरिवी, अशिक्षा रहेको पाइएको बताए । ‘गरिवीका कारण आफ्ना बच्चालाई अभिभावकले नै काममा लगाएको देखियो, कोईरालाले भने ‘परिवारको आर्थिक स्तरवृद्धिका लागि कुनै आयमुलक कार्यक्रम दिनुपर्छ ।’ कतिपय बालश्रमिक अभिभावक बिहिन भएर आफन्तको घरमा काम गर्न बसेको टोलीले फेला पारेको छ । बालश्रमिक उद्धार तथा व्यवस्थापन समितिले आर्थिक अवस्था कमजोर भएका बालश्रमिकका अभिभावकलाई आयमुलक काम गर्न गैर सरकारी संस्थाको सहयोगमा रकम प्रदान गर्न र छोराछोरीलाई बिद्यालय भर्ना गरिदिन पहल गर्ने कुँवरले जानकारी दिईन् ।

Womui
Womui