शान्ति सम्झौताको सम्झना स्वरुप ‘पिस म्याराथन’

164

नेपालगन्ज, कात्तिक २४

Logo

नेकपा माओबादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको मंसिर ५ को सम्झना स्वरुप ‘नेपालगन्ज पिस म्याराथन तथा बहुभाषिक शान्ति सदभाव उत्सव’ गरिने भएको छ । क्षेत्रिय खेलकुद विकास समिति लगायत विभिन्न संस्थाको साझेदारीमा क्रियटिभ ह्याण्ड्सले उक्त प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
प्रतियोगितामा मुलुकभरका उत्कृष्ठ धावकहरुको सहभागिता रहनेछ । खुला प्रतिस्पर्धात्मक म्याराथन नेपालगन्जबाट सुरु भई कोहलपुर पुगेर फर्किनेछ । त्यस्तै १० किलोमिटर महिला मिनी म्याराथन र ५ किलोमिटर विद्यालय स्तरीय छात्रछात्रा दौड तथा ह्वील चेयर दौडमा पनि उत्साहजनक सहभागिता रहने मंगलबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको छ । बहुभाषिक शान्ति सदभाव साँस्कृतिक उत्सवमा राष्ट्रिय भावनाले ओतप्रोत भएका गीत, संगीत र गजल कविता एवम् नृत्य प्रस्तुत हुनेछन् ।
त्यस्तै शान्ति चित्रकला प्रर्दशनी र हिंसा अन्त्य ः शान्ति अठोट हस्ताक्षर अभियानलाई पनि निरन्तरता दिइने क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरीले बताए । ‘म्याराथन धावकहरु अधिकांस विभागिय टोली(नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी)सँग छन, उनीहरुलाई पत्राचार गरिसकिएको छ, उहाँहरुले सहभागिता जनाउने भन्नु भएको छ,’ अध्यक्ष ठकुरीले भने ‘तसर्थ यसमा देशभरका शिर्ष धावकहरु दौडने हामीले अपेक्षा गरेका छौ ।’
पत्रकार भेटघाटमा उपस्थित युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव एवम् प्रवक्ता चुडामणि पौडेलले पिस म्याराथन प्रतियोगिता सञ्चालनले नयाँ खेलाडी उत्पादनमा सघाउ पुग्ने बताए । उनले खेलकुद क्षेत्रलाई विस्तारै अब व्यवसायिकरण गर्नुपर्ने औल्याए । क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले म्याराथनसँग शान्ति र सदभावलाई जोडेर लैजानुपर्नेमा जोड दिए । खुला म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार भेटघाट ।
प्रतियोगिताबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार भेटघाट ।
Womui
Womui