छोरी बलात्कार गर्नेलाई २० वर्ष कैद

25

ताप्लेजुङ, कात्तिक १६

आफ्नै ६ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका ताप्लेजुङ नगरपालिका–१ का ३५ वर्षे बाबुलाई जिल्ला अदालत ताप्लेजुङले दोषी ठहर गर्दै २० वर्ष कैद हुने फैसला सुनाएको छ।  सोमबार जिल्ला अदालतले गएको असोज ३ गतेबाट प्रारम्भ भएको नेपालको संबिधान २०७२ अनुसार अनाथ तथा असहाय वालबालिकाको संरक्षण राज्यको दायित्व भित्र पर्ने भन्दै यो घटनाबाट पीडित बालिकासहित उनका दुईजना भाई र बहिनीको संरक्षणका लागि सरकारको ध्यानाकृष्ट गराएको छ । बालिकाको बयान र उनको स्वास्थ्य परीक्षण समेतबाट बालिका पीडित भएको देखिन आएको भन्दै जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले मुलुकी ऐनको जबरजस्ती करणीको महलको ३(१) बमोजिम पीडक बाबुलाई दशबर्ष तथा तथा हाडनाता करणी समेतको थप दश वर्ष गरी कुल २० वर्ष कैद सजाय हुने फैसला सुनाएको हो। जिल्ला प्रहरी कार्यालयले पीडित बालिकाको भिडियो बयान र उनको स्वास्थ्य परीक्षण प्रतिबेदनलगायतका प्रमाणका आधारमा ३५ वर्षे बाबुलाई दोषी देखाउँदै नाबालिका तथा हाडनाता करणीको कानुन अनुसार कैद सजाय तथा पीडाको आधारमा क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा दायर गरेको थियो। पीडकबाट क्षतिपूर्ति भराउन माग गरे पनि अदालतले पीडकको साथमा चल–अचल सम्पति नदेखिएको भन्दै क्षतिपूर्ति भराउन नपर्ने ठहर गरेको छ।

Womui
Womui