रसुवागढी नाका खुल्यो, चिनबाट इन्धन ल्याउने तयारी

121

रसुवा, कात्तिक ८–
रसुवागढी नाका आइतबारबाट पुनः सञ्चालनमा आएको छ । चीनको सिमाक्षेत्र खम्बाटारदेखि केरुङसम्म दुई ठाउँमा गएको पहिरो हटाएपछि नाका खुल्ला भएको हो । चिनिया अधिकारीले आइतबारबाट नाका सञ्चालनमा आइसकेको जनाएका छन् । भारतको अघोषित नाकाबन्दीपछि चीनबाट इन्धन ल्याउने प्रकृया अघि बढेको बेला नाका खुलेको हो । चीनले अनुदानमा दिने भनिएको एक हजार मेट्रिक टन इन्धन केरुङ हुँदै रसुवागढी नाकाबाट भित्राउने योजना छ । मंगलबार सम्ममा ईन्धन पठाउने तयारीका साथ चीनले नाका सञ्चालन गरेको जनाएको छ । पहिलो चरणमा सहयोग स्वरुप इन्धन उपलब्ध गराउने चीनले जनाएको छ ।
Chaina Border
रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पनि नाका खुलेको बताएका छन् । नियमित ईन्धन आपूर्तिका लागि वाणिज्य मन्त्रालयले सम्झौता गर्ने तयारी गरेको छ । केही दिनअघि आयल निगमका निमित्त नायव कार्यकारी निर्देशक सुशिल भट्टराईको टोली रसुवागढी, केरुङ हुदै न्यालम जान हिडेको थियो । टोली पहिरोकै कारण सिमा नाका रसुवागढीबाट फर्किएको थियो । नाका सञ्चालन सँगै रसुवागढीबाट व्यवसायीको एक टोली आफ्नो रोकिएको सामान भित्राउनका लागि केरुङ पुगेका छन् ।
काठमाण्डौबाट १ सय ८७ किलोमिटर टाढा रहेको केरुङबाट सिगात्से सहरसम्म पुग्न केरुङबाट ५ सय ४८ किलोमिटर दुरी पर्छ । चीनले ल्हासा सम्म पेट्रोलियम पदार्थ ल्याइसकेको छ । सो तेल चीनकै कोल्मुदमा प्रशोधन गर्ने गरिन्छ । उक्त प्रशोधित तेल टयांकरबाट केरुङसम्म ल्याएर वितरण गर्ने गरिएको छ । नाका सञ्चालन सँगै केरुङ प्रवेशका लागि एकदिने पास लिएर जाने व्यवस्था समेत गरिसकिएको जनाइएको छ । यो नाकासम्म आईपुग्न चीनको सिगात्सेसम्म पुग्नुपर्ने हुन्छ ।

Womui
Womui