अञ्चल प्रहरीको चार्डपर्व लक्षित सुरक्षा योजना लागु

67

नेपालगन्ज, असोज २८–
महानपर्व दसै, तिहार र छठ नजिकिदै गर्दा हुन सक्ने अपराधिक एवम् अवान्छित क्रियाकलाप हुन नदिन अञ्चल प्रहरी कार्यालय भेरीले सुरक्षा योजना तर्जुमा गरेको छ । योजना प्रभावकारी रुपमा कार्यान्वयनका लागि भेरी अञ्चलका पाँच वटा जिल्ला अन्र्तगत विभिन्न इकाइमा समेत गरि १ हजार ४ सय ७७ जना सुरक्षाकर्मी परिचालित छन् । सुरक्षा योजना अन्तर्गत सरकारी कार्यालय तथा महत्वपूर्ण प्रतिष्ठानमा चोरी र खतरा आउन नदिनका सुरक्षा व्यवस्था कडा पारिने तथा राजमार्गमा लुटपाट तथा सवारी दुर्घटना हुन नदिन विशेष सुरक्षाका लागि प्राथमिकतामा राखिएको अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक धिरु बस्न्यातले जानकारी दिएका छन् । उनका अनुसार भेरी अञ्चलका पाँच वटै जिल्लामा जुवा रोकथामका लागि जनचेतना कार्यक्रम गरिनेछ, भने विगतका बर्षमा भएका जुवा अपरेशन र पक्राउबारे अध्ययन गरी खेलाउने ब्यक्ति, स्थान र सञ्जालबारे सुचना संकलन गरि सो को आधारमा जुवा नियन्त्रण योजना बनाई जुवा रेड अप्रेशनका लागि विशेष दस्ता निर्माण गरि परिचालन समेत गरिएको अञ्चल प्रहरी प्र्रमुख बस्न्यातले बताए ।

भेरी अञ्चल प्रहरी प्रमुख धिरु बस्न्यात ।
भेरी अञ्चल प्रहरी प्रमुख धिरु बस्न्यात ।

चाडपर्वको समयमा अन्य क्षेत्रमा भएका बैक, बित्तिय संस्था, होटल, बसपार्क तथा सुपर मार्केटमा भएका र हुनसक्ने सम्भाव्य चोरी डैकती नियन्त्रण गर्न प्रत्येक जिल्लाहरुमा प्रहरी निरिक्षकको नेतृत्वमा बिशेष टोली गठन गरि दक्ष प्रहरी जनशक्तिको परिचालन गरिएको छ, भने नाकाबन्दीबाट सिर्जित असहज परिस्थितिमा हुनसक्ने कालो बजारी रोक्न सरोकारवाला निकायहरुसँग समन्वय गरी बस्तुको सहज आपुर्तीको ब्यवस्था मिलाउने तर्फ समन्वय समेत गरी अनुगमन टोली ब्यवस्था समेत मिलाइएको बस्न्यातले जानकारी दिए । चाडपर्वमा हुनसक्ने संभावित पटका, आतिसबाजी लगायतका बिष्फोटक पदार्थहरुको आयात तथा प्रयोगमा नियन्त्रण गर्न सिमा नाकामा चेकजाँचमा कडाई गरि विक्री वितरण गर्नेहरुको पहिचान र कारबाहीको लागि सिमामा अवस्थित सम्पुर्ण प्रहरी इकाइलाई सक्रिय पारिएको अञ्चल प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै चाडपर्वमा रमाइलोका लागि प्रयोग हुने अवैध मदिरा उत्पादन तथा विक्री वितरणमा नियन्त्रण गर्न मातहतका सबै प्रहरी कार्यालयमा रहेका सामुदायिक प्रहरीलाई विशेष रुपमा परिचालन गरी उत्पादनमै रोक लगाउने र मदिरा सेवनबाट हुन सक्ने विभिन्न घटना रोकथामको लागि जनचेतना मूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । चाडपर्वमा घर फर्किने नेपालीलाई लक्षित गरी सिमा नाकामा हुनसक्ने अनावश्यक झन्झट, लुटपाट तथा ठगिका घटना हुन नदिन सिमास्थित भारतीय सुरक्षा निकाय समेतका सरोकार निकायसँग समेत समन्वय गरि सो हुन गर्न नदिने ब्यवस्था मिलाइएको अञ्चल प्रहरीले जनाएको छ । ‘नवदुर्गाको पुजा गरिने मन्दिरहरु, तिहारमा खेलिने देउसी, भैलो कार्यक्रम र छठपर्वमा नदी, किनार तथा ताल तलैयामा लाग्ने मेला पर्वको सुरक्षा ब्यवस्था मिलाउन प्रभावकारी प्रहरी परिचालन गर्न मेला पर्व सुरक्षा टोली गठन गरि परिचालन गरिएको छ,’ बस्न्यातले विज्ञप्तीमा भनेका छन् ।

Womui
Womui