डिजल फालाफाला, उपभोक्तालाई अभाव

108

नेपालगन्ज, असोज २८–
आयल निगमले व्यवस्थित रुपमा वितरण नगर्दा उपभोक्ताले जिल्लामा अझैपनि इन्धन अभावको समस्या झेल्नु परेको छ । अघोषित रुपमा भारतले लगाएको नाकाबन्दी हटाएसँगै दिनहुँ दजनौंको संख्यामा डिजल ट्यांकर भित्रिने गरेका छन, तर उपभोक्ताहरु सहज रुपमा डिजल नपाएर दिनभर पम्पमै लाइनमा लाग्नुपर्ने बाध्यता छ । निगमले पम्पलाई व्यवस्थित रुपमा डिजल वितरण नगर्दा सबैभन्दा बढी मर्कामा यातायात व्यवसायी परेका हुन् । दसै नजिकिदै गर्दा यातायात साधनमा यात्रुको चाप त्यसैपनि बढी छ । पर्याप्त डिजल नपाएका कारण अधिकांस बस व्यवसायी समितिले आफ्ना सबै सवारी साधन चलाउन पाएका छैनन, सवारी साधनको संख्या कम हुदाँ त्यसको प्रत्यक्ष मार यात्रुलाई परिरहेको छ ।
डिजल अभावको समस्याले लामो समयदेखि थलिएका यातायात व्यवसायी नाकाबन्दी खुलेपनि सास्ती खेप्न बाध्य छन् । नमस्ते नेपाल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष गोविन्द पौडेलले कुनैपनि पम्पमा डिजल सहज रुपमा उपलब्धता हुन नसकेको गुनासो गरे । ‘नयाँ सरकार बनेपछि नाकाबन्द खुल्यो र धमाधम डिजल भित्रियो, तर आयल निगमले कुनैपनि पम्पलाई पर्याप्त मात्रामा बाँडेको देखिएन,’ उनले भने । डिजल नपाउँदा आफ्ना समिति अन्तर्गत चल्ने केही सवारी साधनको संख्या कटौती गर्नु परेको वरिष्ठ उपाध्यक्ष पौडेलले बताए । उनले भने ‘दसैको मुखमा यात्रुको चाप बढेपनि डिजल नपाएपछि चलाउन गाह्रो भयो ।’ पेट्रोलियम पदार्थ वितरणमा निगमले असक्षमता देखाएको उनको आरोप छ ।

भारतको रुपैडिहाबाट भित्रिएका डिजल बोकेका ट्यांकर ।
भारतको रुपैडिहाबाट भित्रिएका डिजल बोकेका ट्यांकर ।

डिजल अभावको सामना गर्ने पौडेल मात्र एक्ला होईनन् । नेपालगन्जबाट सञ्चालित विभिन्न सार्वजनिक यातायात समिति, ट्रक, मिनिट्रक, ट्यांकर, टेम्पो व्यवसायी तथा अन्य विभिन्न उद्योगी, व्यवसायी, किसानले पनि उत्तिकै समस्या बेहोर्न बाध्य छन् । भर्खरै आफ्नो सेवा प्रारम्भ गरेको पुर्व–पश्चिम यातायात व्यवसायी संघ कोहलपुरका नेपालगन्ज शाखा प्रमुख मंगल जि.एम नाकाबन्दी खुलेको लामो समय वितिसक्दा पनि इन्धनको सहज रुपमा वितरण गर्न नसक्नु सरकारी निकाय र आयल निगमको ठुलो कमजोरी रहेको बताउँछन् । ‘नाकाबन्दी खुलेर जनजीवन सहज भइसकेको अवस्थामा भारतबाट भित्रिएको इन्धनलाई यो सरकारको संयन्त्रले वितरण गर्न सक्दैन,’ उनले आक्रोशित हुदै भने ‘इन्धन अभावका कारण हाम्रो गाडी नियमित रुपमा गुड्न पाएका छैनन् ।’
रुट परमिट पाएका बसले सहज रुपमा डिजल नपाउँदा घण्टौं सम्म लाईनमा लाग्नुपर्ने बाध्यता रहेको र त्यसको प्रत्यक्षमा मारमा यात्रु पर्ने गरेको उनले बताए । ‘पम्पमा दिनभर लाईनमा बस्दा पनि मागेजति डिजल पाइदैन, यस्तो अभाव कहिले सम्म झेल्नुपर्ने होला ।’ बजारमा दोब्बर बढी मुल्यमा डिजल बिक्री, वितरण भइरहेपनि प्रहरी, प्रशासन मुखदर्शक बनिरहेको उनको आरोप छ । नेपालगन्जमा पेट्रोलियम पदार्थको अभाव भइरहदाँ आयल निगमका क्षेत्रीय प्रवन्धक श्रीचन्द्र श्रेष्ठ विभिन्न बहाना लगाएर पन्छिने काम गरिरहेका छन् । दसैको मुखमा उपभोक्ताहरु इन्धन अभावका कारण छट्पटाइरहदाँ निगमका क्षेत्रीय प्रवन्धक श्रेष्ठ भने विभिन्न बहाना लगाएर सम्पर्क बिहिन भएको स्रोतले बताएको छ ।
यता प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले नाकाबन्दी खुलेयता नेपालगन्जमा डिजलको अभाव नरहेको बताए । ‘दैनिक रुपमा डिजलका ट्यांकर भित्रेको हुँदा नेपालगन्जमा डिजल अभाव खेप्नुपर्ने अवस्था छैन,’ उनले भने ‘आयल निगमले पम्पहरुलाई पर्याप्त मात्रामा डिजल नदिनुको कारण म पत्ता लगाउँला ।’ रुपैडिहा नाकाबाट भित्रिएको थोरै परिमाणको डिजल राजधानी पठाइएपनि धेरै मात्रामा राँझामै राखिएको लेखकले बताए । ‘जसलाई जति चाहिन्छ, त्यति डिजल दिन सकिने स्टक नेपालगन्जमा छ, त्यति धेरै डिजल त फालाफाल नै हुन्छ,’ उनले थपे ।

Womui
Womui