नाकाबन्दी खोल्न परराष्ट्रमन्त्रीको संयोजकत्वमा वार्ता टोली

37

काठमाडौं, असोज २३–
नाकाबन्दीको १८ दिनपछि र नयाँ सरकार चुनिन ४८ घन्टामात्र बाँकी रहँदा सरकारले नाकाबन्दी हटाउन भारतसँग संवाद गर्न परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको संयोजकत्वमा वार्ताटोली गठन गरेको छ । वार्ताटोली गठन भएलगत्तै मन्त्री पाण्डेले काठमाडौंस्थित भारतीय राजदूत रन्जित रेसँग भेटेर ‘नाकाबन्दी’ भन्ने शब्द उच्चारणै नगरी नाकाबन्दी हटाउन पहल गर्न आग्रह गरेका छन् । भारतलाई थप नचिढ्याउने रणनीतिअनुसार मन्त्री पाण्डेले राजदूतसँगको भेटमा ‘नाकाबन्दी’ शब्द उच्चारण गरेनन् । नयाँदिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायमार्फत प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र भारतीय विदेश मन्त्रालयका अधिकारीलाई स्थिति सहज पारिदिन नेपालले ताकेता गरे पनि भारतीय विदेश मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी नाकाबन्दी तत्काल नहट्ने स्पष्ट बताएको थियो । ‘भारतबाट सहज रूपमा तत्कालै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था मिलाउन मन्त्रीज्यूले आग्रह गर्नुभयो,’ मन्त्री पाण्डेका जनसम्पर्क सल्लाहकार अश्विन पुडासैनीले भने । पुडासैनीले अहिले नेपाल र भारतबीच उत्पन्न असहज परिस्थिति अन्त्य गर्न दुवै देशले प्रयत्न गर्नेबारे कुराकानी भएको जानकारी दिए ।

mahendra
मन्त्री पाण्डेले राजदूत रेलाई शुक्रबार मन्त्रालयमै डाकेर पेट्रोलियम संकट हटाइदिन आग्रह गरे पनि त्यसमा सकारात्मक जबाफ प्राप्त भएन । राजदूत रेले तराईमा विद्यमान आन्दोलनका कारण सीमामा जारी तनावले असुरक्षा भई भारतीय कार्गो सवारीसाधनहरू नेपालतिर आउन नपाएको पुरानै तर्क मन्त्री पाण्डेसँगको भेटमा पनि दोर्होयाए । बिहीबार नयाँदिल्लीमा पत्रकारसँग कुरा गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपालले आफ्नो समस्या आफैं समाधान गर्नुपर्ने भन्दै घोषित या अघोषित कुनै पनि खालको नाकाबन्दी नलगाएको दाबी गरेका थिए । सीमानाकामा जारी अवरोध हटाउन, चुस्त सुरक्षा व्यवस्था मिलाउन दुवै देशका सीमा प्रशासन अधिकारी र सुरक्षा अधिकारीबीच स्थानीय तहमा समन्वय गर्न मन्त्री पाण्डे र राजदूत रेबीच छलफल भएको परराष्ट्र अधिकारीहरूले बताए ।
मन्त्रिपरिषद् बैठकले शुक्रबार नाकामा देखिएको अवरोध अन्त्य गरी पेट्रोलियम पदार्थ एवं अन्य आवश्यक वस्तुको आपूर्ति सहज बनाउनेलगायत विषयमा भारतसँग वार्ता गर्नका लागि मन्त्री पाण्डेको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको थियो । समितिमा वाणिज्यमन्त्री सुनिलबहादुर थापा, परराष्ट्र निमित्त सचिव शंकर बैरागी, वाणिज्यसचिव ङइन्द्र उपाध्याय, गृहसचिव सूर्य सिलवाल र अर्थसचिव सुमनप्रसाद शर्मा सदस्य छन् ।

Womui
Womui