ढुंगामुढा हुँदा भारतीय प्रहरी मूकदर्शक

85

नेपालगन्ज, असोज २२–
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता–कार्यकर्ताले बिहीबार जमुनाहास्थित दसगजा छेउमा दिनभर धर्ना दिए । नाका नै ठप्प पारेर उनीहरूले धर्ना दिँदा पनि नेपाली सुरक्षाकर्मीले उनीहरूलाई हटाउन सकेनन् । ‘मोर्चा कार्यकर्तालाई नहटाउँदा आवागमनमा अवरोध हुन्छ, हटायो भने उनीहरू पारिपट्टि गएर हामीमाथि ढुंगामुढा गर्छन,’ एक प्रहरी अधिकृतले भने, ‘संवेदनशील ठाउँमा बसेर मोर्चाले आन्दोलन गर्दा हामीलाई समस्या हुन्छ ।’ यसअघि यो नाकाबाट आन्दोलनकारीलाई हटाउँदा उनीहरूले पटकपटक भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए ।  मोर्चाले आफ्नो भूमि प्रयोग गरेर आन्दोलन गरेको जानकारी भए पनि भारतीय प्रहरी भने मूकदर्शक बनेको थियो । गत असोज ९ गते मोर्चाका कार्यकर्ताले भारतीय भूमिबाटै नेपाली सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेका थिए । त्यतिबेला नेपाली सुरक्षाकर्मीले न त्यहाँ गएर लाठी चार्ज गर्न सके न त अश्रुग्यास प्रहार गर्न पाए । आन्दोलन नियन्त्रण बाहिर जाँदा नेपाली सुरक्षाकर्मीले असन्तुष्टि जनाएपछि मात्र भारतीय प्रहरीले त्यहाँबाट आन्दोलनकारीलाई भगाएको थियो ।
पुनः असोज १६ गते सोही क्षेत्रमा घटना दोहोरियो। मधेसी मोर्चाका नेता–कार्यकर्ताले भारतीय भूमिबाट नेपालपट्टि रहेका मालबाहक ट्रकमाथि ढुंगा प्रहार गर्न खोजे । नेपाली सुरक्षाकर्मीको चेतावनीपछि उनीहरूले हातमा समातेको ढुंगा फ्याँके । तर, नजिकै रहेका भारतीय प्रहरी भने मूकदर्शक देखिए । मोर्चाले आफ्नो आन्दोलनका क्रममा दसगजा र भारतीय भूमि पटकपटक प्रयोग गर्दै आएको छ। भारतीय प्रहरीको भूमिकाप्रति नेपाली सुरक्षाकर्मी नै असन्तुष्ट छन् । जमुनाहास्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक विष्णु गिरी मधेसी मोर्चाले भारतीय भूमि र दसगजामा आन्दोलन गर्दा आफूहरूलाई समस्या पर्ने बताउँछन् ।’

Dhunga mudha
आन्दोलनकारी भारतमा गएर ढुंगामुढा गर्दा पनि उताका सुरक्षाकर्मीले उनीहरूलाई नधपाउन आश्चर्यको कुरा हो,’ गिरीले भने, ’हामीले यो विषयमा बारम्बार उनीहरूसँग कुरा राख्दै आएका छौं ।’ मोर्चाले भने दसगजा र भारतीय भूमिमा आन्दोलन गर्नुलाई बाध्यताका रूपमा लिएको छ। संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवं मधेसी मोर्चाका नेता जगदीशबहादुर सिंह भन्छन,’ दसगजा छेउमा टेन्ट लगाएर बस्न खोज्दा हामीलाई त्यहाँबाट नेपाल प्रहरीले भगाउँछ, त्यसपछि भागेर भारतीय भूमिमा जान बाध्य हुन्छौं ।’ भारतमा आन्दोलनकारी सुरक्षित हुने सिंहको बुझाइ छ ।
भारतीय भूमिमा आन्दोलन गर्ने र नगर्ने भन्ने विषयमा मोर्चा विभाजित छ । विशेष गरी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले भारतीय भूमि र दसगजामा गर्ने आन्दोलनको चर्को विरोध गर्दै आएको छ । भारतीय भूमिमा आन्दोलन गर्न हुने र गर्न नहुने विषयमा भएको विवादले उग्र रूप लिँदा यसै साता नेपाल–भारत सिमानाका दसगजामा तनाव भएको थियो । त्यसयता मधेसी मोर्चा दुई समूहमा विभाजित छ । तराई–मधेस लोकतान्त्रिक पार्टी, संघीय समाजवादी फोरम नेपाल र सद्भावना पार्टी भारतीय भूमिमा आन्दोलन गर्ने पक्षका हुन् भने फोरम लोकतान्त्रिक नेपाली भूमिमा आन्दोलन गर्न अडान लिने दल हो । त्यसयता फोरम लोकतान्त्रिकले मोर्चाको कार्यक्रममा सहभागिता जनाउनै छाडेको छ ।
‘भारतको गुलाम गर्ने व्यक्तिहरूले त्यहाँको भूमि प्रयोग गरेर मधेसका नाम जोड्दै आन्दोलन गरिरहेका छन,’ फोरम लोकतान्त्रिकका अध्यक्ष हीरालाल लोनियाले भने, ‘भारतबाट आन्दोलन गर्नेहरू मधेसका आन्दोलनकारी हुन सक्दैनन, उनीहरू आफ्नो राष्ट्रियतालाई कमजोर पारेर भारतको दलाली गरिरहेका छन् ।’ भारतीय भूमिमा आन्दोलन गर्नेलाई नेपालप्रति माया र सद्भाव नरहेको उनले बताए ।
संविधान घोषणापछि विभिन्न सर्त अघि सार्दै नाकाबन्दीसमेत गरेको भारतले तराईमा जारी आन्दोलनलाई समर्थन गरेको पुष्टि भारतीय सीमामा खटिने सुरक्षाकर्मीको व्यवहारले बताइरहेको एक स्थानीयले बताए । मोर्चाले नेपालगन्ज नाका मात्र नभएर पूर्वी र मध्य तराईका विभिन्न नाकामा पनि भारतीय भूमिमै बसेर आन्दोलन गर्दै आएका छन् । नाका नै ठप्प पारेर प्रदर्शन हुँदा पनि भारतीय प्रहरीले आन्दोलनकारीलाई हटाउने गरेको छैन । ‘भारतीय भूमिबाट मधेसी मोर्चाको अराजक गतिविधि र भारतीय प्रहरीको व्यवहारले नेपाली सुरक्षाकर्मीलाई समस्या हुने गरेको छ,’ बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त पन्तले भने, ‘अन्तराष्ट्रिय सीमाका कारण दसगजा पार गरेर जान सक्दैनौं, जति ढुंगामुढा भए पनि आफूलाई सुरक्षित राखेर बस्नुपर्छ ।’

‘दायित्व भारत सरकारको’
भारतीय भूमि प्रयोग गरी नेपाली सुरक्षाकर्मीमाथि भइरहेको आक्रमण र दसगजामा हुने प्रदर्शन रोक्ने दायित्व भारत सरकारको पनि रहेको अन्तराष्ट्रिय कानुनका विज्ञ बताउँछन् । अन्तराष्ट्रिय कानुनका विज्ञ हरि फुयाल दसगजा क्षेत्रमा धर्ना बस्ने र भारतीय भूमि प्रयोग गरी ढुंगा हान्ने प्रदर्शनकारीसामु मौन बस्नुलाई भारतीय सुरक्षाकर्मीको सहयोग भन्छन् । पारस्परिक सहयोग र सहकार्यको सिद्धान्तअनुसार भारतीय सुरक्षाकर्मीले प्रदर्शनकारीलाई नभई नेपाली सुरक्षाकर्मीलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ । ‘यसले गर्दा यी सबै गतिविधि उनीहरूकै संरक्षण, सूचना र जानकारीमा भइरहेको पुष्टि हुन्छ,’ उनी भन्छन, ‘सीमा क्षेत्रबाट छिमेकीको सुरक्षामाथि भइरहेको खतरा कम गर्नु भारतीय पक्षको पनि दायित्व हो ।’ दसगजा दुवै देशको साझा ठाउँ भएकाले उक्त क्षेत्रमा भएका घटनामा भारतको पनि उत्तिकै जिम्मेवारी हुने उनले बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक भारतीय प्रशासनिक तथा सुरक्षा निकायलाई यसबारे जानकारी गराए पनि सहयोग नपाएको बताउँछन्। प्रदर्शनकारीहरू भारततिर पस्दा एकछिन आएर धपाएजस्तो गर्ने र त्यसपछि रमिता हेर्ने गरेको उनले बताए । ‘प्रदर्शनकारीहरू उतै बसेर योजना बनाउँछन, अनि दसगजामा आएर प्रदर्शन गर्छन,’ उनले भने, ’हामीले भारतीय सरकारी निकायसँग यसबारे कुरा गरे पनि सहयोग पाइएको छैन ।’ आजको नागरिकमा समाचार छ ।

Womui
Womui