‘पेट्रोलियम पदार्थ नपाए गाडी कसरी चलाउनु ?’

32

नेपालगन्ज, असोज २१
पेट्रोलियम पदार्थको आपूर्ति सहज हुन नसके अबको केही दिनमा सार्वजनिक यातायात र ढुवानीका कुनै पनि साधन चलाउन नसकिने व्यवसायीहरुले बताएका छन् । स्थानीय प्रशासन कार्यालय बाँकेको रोहवरमा जिल्लामा क्रियाशिल यातायात व्यवसायी, नेपाल आयल निगमका कर्मचारी लगायतको उपस्थितिमा भएको छलफलमा यस्तो बताइएको हो । बैठकमा यातायात व्यवसायीले पेट्रोलियम पदार्थ वितरण कार्य अव्यवस्थित भएको गुनासो गरेका थिए । जिल्लाको समस्या समाधान नगरेर आयल निगमले नेपालगन्ज नाकाबाट भित्रिएको पेट्रोलियम पदार्थलाई अन्यत्र पठाउँदा समस्या झन् विकराल भएको उनीहरुको भनाइ छ ।
बैठकमा यातायात व्यवसायीहरुले पर्याप्त इन्धन बिना सवारी साधन चलाउन नसक्ने अडान लिएपछि निगमले दैनिक १८ हजार लिटर इन्धन बाँकेलाई दिने सहमती जनाएको नमस्ते नेपाल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष गोविन्द पौडेलले बताए । उनले भने, ‘पेट्रोलियम पदार्थ नपाए हामीले गाडी कसरी चलाउने ?’
जिल्लामा दैनिक रुपमा ६० हजार लिटर इन्धन खपत हुने गरेकोमा नाकाबन्दी यता मुस्किलले १२ हजार लिटर मात्र खपत हुने गरेको निगमले जनाएको छ । बैठकमा आयल निगमका मध्यपश्चिम क्षेत्रीय प्रवन्धक श्रीचन्द्र श्रेष्ठ, प्रशासनका अधिकारी, यातायात व्यवसायी, पेट्रोलियम डिलर्स एशोसियशनका पदाधिकारीलगायत सहभागी थिए ।

Womui
Womui