तेल किन्न ग्लोबल टेन्डर

62

काठमाडौं, असोज २१–
सरकारले भारतीय सरकारी निकाय इन्डियन आयल कर्पाेरेसन (आइओसी) लाई दिँदै आएको पेट्रोलियम निर्यात एकाधिकार तोड्दै तेल आयातका लागि ग्लोबल टेन्डर खोल्ने भएको छ । भारतले ’असुरक्षा’ का नाममा नाकाबन्दी लगाउँदा पेट्रोलियम अभाव चर्किएपछि सरकारले वैकल्पिक व्यवस्था गर्न एउटा देशमाथिको निर्भरता तोड्न लागेको हो । त्यसका लागि नेपाल आयल निगमले बिहीबार सार्वजनिक सूचना जारी गरी तेल निर्यातकर्तालाई आह्वान गर्दैछ । त्यसका लागि निगमले आन्तरिक गृहकार्य पूरा गरिसकेको छ । बुधबारै सूचना जारी गर्ने गरी काम गरिए पनि नभ्याइएकाले बिहीबार सूचना निकाल्ने तयारी भएको गरेको हो । भारतले १४ दिनदेखि पेट्रोलियम पदार्थ आपूर्ति ठप्प पारेपछि विकल्प खोज्दै सूचना निकाल्ने भएको हो । ’विश्वका कुन देशले हामीलाई तेल उपलब्ध गराउन सक्छ, त्यसको खोजीसहित सूचना निकाल्न लागेको हो,’ स्रोतले भन्यो ।

भारतको रुपैडिहामा लामो समयदेखि रोकिएका ट्यांकर ।
भारतको रुपैडिहामा लामो समयदेखि रोकिएका ट्यांकर ।

भारतको अघोषित नाकाबन्दीले आजित जनताले दसैंमा राम्रोसँग घर जान पाउने गरी काम हुने स्रोतको भनाइ छ । ’सूचना निस्केपछि विश्वका तेल निर्यातकर्ताले आवेदन हाल्छन्,’ स्रोतले भन्यो, ’त्यसलाई जतिसक्दो चाँडो छानेर निर्यातका लागि स्वीकृति प्रदान गर्छौं ।’ वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमका उच्च अधिकारीलाई निगममै बोलाएर तत्काल विकल्प अगाडि ल्याउन निर्देशन दिएको हो । सोहीअनुरुप निगमले सूचना निकाल्न लागेको स्रोतको दाबी छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापालाई तत्काल पेट्रोलियम पदार्थको विकल्प सोच्ने जिम्मेवारी दिएको थियो । त्यहीअनुसार मन्त्री थापाले निगमलाई स्पष्ट खाका ल्याउन निर्देशन दिएको हो । आजको नागरिकमा खबर छ ।

Womui
Womui