भारतीय दूतावासले माग्यो आयल निगमसँग तेल

52

काठमाडौं, असोज २०

भारतले नेपालविरुद्ध लादेको अघोषित नाकाबन्दीबाट इन्धन अभाव चर्किएका बेला काठमाडौंस्थित भारत लगायत विभिन्न दूतावास तेल माग्न नेपाल आयल निगम पुगेका छन् । उनीहरुले दैनिक कामकाज रोकिने अवस्था आएपछि तेल उपलब्ध गराइदिन सोमबार परराष्ट्र मन्त्रालयमार्फत निगमलाई लिखित आग्रह गरेका हुन् । भारतीय दूतावासभित्र उसको आफ्नै पेट्रोल पम्प छ । भित्रै तेल सकिएपछि दूतावास निगमको शरणमा पुगेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

भारतीय दूतावास जस्तै नेपालमा रहेका कूटनीतिक नियोगमध्ये १५ वटामा तेल सकिएको छ । सबैले परराष्ट्रमन्त्रालयमार्फत पत्राचार गरी तेल मागेको निगमसम्बद्ध स्रोतले जानकारी दियो । ‘सबै कूटनीतिक नियोगलाई तेल आवश्यक छ । भारतीय दूतावासले अरुको भन्दा बढी मागेको छ,’ निगम उच्च स्रोतले मंगलबार भन्यो, ‘मागेजति दिन सक्ने अवस्थामा निगम छैन ।’ स्रोतका अनुसार आधा दर्जन कूटनीतिक नियोगले तेल माग्दै पत्र लेखेका छन् । उनीहरुले सोमबार परराष्ट्रलाई पत्र लेखेका थिए । परराष्ट्रले कूटनीतिक नियोगलाई आवश्यक तेल दिन सोमबारै निगमलाई पत्र लेखेको थियो । परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल गरेर भारतबाट तेल ल्याउने वातावरण नबनाएसम्म कूटनीतिक नियोगले मागेजति तेल दिन नसकिने निगमले बताएको छ । ‘दसैं–तिहारजस्ता चाडपर्वको मुखमा लामो दुरीका यातायातलाई त दिन नसकेका बेला नियोगलाई कसरी दिने भनेर छलफलमा छौं,’ स्रोतले भन्यो, ‘भएको बेला दिएकै हो । भारतले नाकाबन्दी गरेपछि नेपालमा तेल ट्यांकर नभित्रिएको तथ्य पनि सबै नियोगलाई थाहा छ ।’ नेपालका जनप्रतिनिधिले जारी गरेको संविधानमा असहमति जनाउँदै भारतले अघोषित नाकाबन्दी गरेपछि पेट्रोलियम पदार्थको अभाव चर्कंदो छ । भारतले नयाँ संविधानमा आफूले भनेअनुसार संशोधन नगरेसम्म तेल नछाड्ने अनौपचारिक घोषणा गरेको छ । निगमले नेपालमा उडान भर्ने अन्तर्रा्ष्ट्रिय वायुसेवाका विमानलाई गत एक साताअघिदेखि नै हवाई इन्धन दिन छाडिसकेको छ । निगम स्रोतका अनुसार भारतीय दूतावासले १ सय ५० र श्रीलंका, फ्रान्स, अस्ट्रेलिया र थाई दूतावासले सय–सय लिटर तेल मागेका छन् । ‘भारतले तेल आपूर्ति रोकेर असहज परिस्थिति सिर्जना गरे पनि नेपालमा रहेका दूतावास हाम्रा पाहुना हुन्, त्यसैले पुगेजति दिनेबारे कुरा भइरहेको छ,’ निगमका एक उच्च अधिकारीले भने, ‘भारतले जे व्यवहार देखाएको छ, त्यसको प्रतिशोध साध्न नेपालमा रहेको उसको दूतावासलाई तेल नदिने भन्ने हुँदैन ।’ नियोगले मागेअनुसार दिन सकिने/नसकिने अध्ययन भइरहेको निगम स्रोतले बतायो । निगमसँग भएको स्टकबारे पनि छलफल भइरहेको छ । भारतले भूपरिवेष्टित मुलुकले समुद्रसम्म निर्वाध पहुँच पाउने अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै नेपालविरुद्ध नाकाबन्दी गरेको विषयमा अन्तर्राष्ट्रिय समुदाय अहिलेसम्म मौन छ । ‘नेपाललाई तेल नदिएको भारतले नै हो । त्यसो भन्दैमा हामीले उसलाई नदिने भन्ने हुँदैन,’ ती अधिकारीले भने, ’हामी भारतले जस्तो व्यवहार दूतावासलाई गर्दैनौं ।’ परराष्ट्र मन्त्रालयमार्फत आएको पत्र निगमले सदर गरिसकेको छ । कूटनीतिक नियोगलाई स्टकबाट केही तेल उपलब्ध गराउने निगमको तयारी छ । १५ जति दूतावासले सय लिटरका दरले तेल मागेका छन् । निगमसँग सो परिमाणमा तेल भएकाले दिने योजना बनाएको हो ।

Womui
Womui