पेट्रोलियम पदार्थ रोक्दै, मालबाहक ट्रक छाड्दै

32

नेपालगन्ज, असोज १९–

अघोषित नाकाबन्दी गर्दै आएको भारतले मंगलबार पनि नेपालगन्ज नाकाबाट पेट्रोलियम पदार्थ बोकेका ट्यांकरमाथिको अवरोध कायमै राखेको छ । उक्त नाकाबाट मंगलबार २६ वटा मालबाहक ट्रक भित्रिदाँ २ वटा मात्र डिजल ट्यांकर सिमा प्रवेश भएका छन् । यसले पेट्रोलियम ट्यांकरमाथिको अवरोध भारतीय पक्षबाट यथावत राखेको पुष्टी गरेको छ । भारतीय पक्षले पेट्रोलियम ट्यांकर रोकेर मालबाहक अन्य ट्रक तथा कन्टेनर छाडेपनि नेपालगन्ज भन्सार कार्यालयले सहजै भन्सार पास गरेर प्रवेश अनुमती दिइरहेको पाइएको छ । ‘भारतले हाम्रा पेट्रोलियम ट्यांकरमाथि अवरोध गरिरहेपनि त्यहाँबाट आएका मालबाहक ट्रकलाई सहजै भन्सार पास गरिदिएका छौ,’ प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले भने ‘भारतले मात्र हामीलाई अप्ठ्यारोमा पार्ने काम गरिरहेको छ, हामीले यतातिर वातावरण सहज बनाउने काम गरिरहेका छौ ।’

नेपालगन्जबाट रुपैडिहाको केवलपुरस्थित पम्पमा तेल भर्न पुगेका मोटरसाईकल ।
नेपालगन्जबाट रुपैडिहाको केवलपुरस्थित पम्पमा तेल भर्न पुगेका मोटरसाईकल ।

रुपैडिहाबाट मंगलबार भित्रिएका २६ वटा ट्रकमा कोईला, चामल, फलाम, तरकारी, लगायत सामान लोड भएको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । रुपैडिहा सम्म आएका पेट्रोलियम ट्यांकरले भारतीय पक्षबाट सिमा प्रवेशको अनुमती नपाउँदा नेपाल आयल निगमका अधिकारी तनावमा छन् । निगमका कर्मचारी कहिले नेपालगन्ज त, कहिले भारतीय बजार रुपैडिहा बजार धाउने गरेका छन् । ‘जति पटक भारतीय पक्षसँग कुराकानी गरेपनि अलमलमा पार्ने काम मात्रै गरिरहन्छन,’ निगमका एक कर्मचारीले भने ‘लामो समयसम्म यसरी नै झुलाएर दुःख दिने भारतको छलकपट हो ।’
भारतीय सिमा सुरक्षाबल एसएसबीले यसअघि सोमबार पनि १३ वटा मालबाहक ट्रक छाड्दा ७ वटा मात्रै पेट्रोलियम पदार्थ बोकेका ट्यांकरले भित्रिएका थिए । भारतीय पक्षले मालबाहक ट्रकलाई सहजै रुपमा कष्टम पास गरिदिएपनि पेट्रोलियम ट्यांकरलाई अनुमती दिन अटेरी गरिरहेको अधिकारीहरुको गुनासो छ । पेट्रोलियम ट्यांकरका लागि कष्टम पास र सिमा प्रवेशको अनुमती माग्दा भारतीय सिमा सुरक्षा बल एसएसबीले केन्द्रबाट निर्देशन नआएको भन्दै पन्छाउने गरेको उनीहरु बताउँछन् । निगमका कर्मचारीले भने, ‘अरु मालबाहक ट्रकलाई धमाधम छाडिरहेको छ, पेट्रोलियम पदार्थ छाडिदिन अनुरोध गर्दा एसएसबीले विभिन्न बहाना लगाउँछ ।’ भारतको अघोषित नाकाबन्दीले सिमावर्ती बजार रुपैडिहामा दर्जनौं पेट्रोलियम ट्यांकर हप्तौदेखि रोकिएका छन् । यि ट्यांकरलाई भारतीय कष्टमले अनुमती नदिएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ । निगमका अनुसार रुपैडिहामा १३ वटा ग्याँस बुलेट, ११ वटा डिजल ट्यांकर र ६ वटा पेट्रोल ट्यांकर रोकिदै आएका छन् । रोकिएका ट्यांकरमा २ सय ४ किलो लिटर डिजल, १ सय २० किलो लिटर पेट्रोल तथा २ सय ३४ मेट्रीक टन एलपी ग्याँस ढुवानी गरिएको छ ।
रुपैडिहामा आएका पेट्रोलियम ट्यांकरलाई भारतीय पक्षले सिमा प्रवेशमा रोक लगाइरहदाँ इलाहाबाद पुगेका दुई वटा ट्यांकरलाई पनि इण्डियन आयलले प्राविधिक कारण देखाउँदै हवाई इन्धन लोड गर्न नमानेको नेपाल आयल निगमका क्षेत्रीय प्रवन्धक श्रीचन्द्र श्रेष्ठले बताएका छन् । गोण्डामा लोड भएको (३२ किलो लिटर) २ ट्यांकर डिजल÷पेट्रोल भने बाटोमै रहेको उनले जानकारी दिए । लामो समयदेखि रुपैडिहामा रोकिएका ट्यांकरलाई सिमा प्रवेश हुन नदिएर एसएसबीले अन्य मालबाहक ट्रकलाई विना अवरोध छाड्ने गरेको श्रेष्ठले बताए । ‘पेट्रोलियम ट्यांकरलाई मात्र रोकेर हामीलाई दुःख दिने उनीहरुको भित्रि उद्धेश्य हो,’ श्रेष्ठले भने ।

Womui
Womui