नेपालगन्ज नाकाबाट पेट्रोलियम ट्यांकर प्रवेशमा झन् कडाई

115

नेपालगन्ज, असोज १२–
अघोषित नाकाबन्दी गरेको भारतले नेपालगन्ज नाकाबाट भित्रिने पेट्रोलियम पदार्थ बोकेका ट्यांकरलाई नेपाल प्रवेशमा झन् कडाई गरेको छ । संविधान निर्माणमा असन्तुष्टी जनाएको भारतले नेपाललाई असहयोग गर्न अघोषित नाकाबन्दी गरेको हो । नेपालगन्ज नाकाबाट हिजो सोमबार पनि पेट्रोलियम पदार्थ बोकेका कुनैपनि ट्यांकर प्रवेश हुन पाएनन् । ईलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार अन्य माल सामान ढुवानी गरेका २५ वटा ट्रकलाई भने भारतीय सिमा सुरक्षा बल एसएसबीले प्रवेश हुन दिएको छ । रुपैडिहामा सयौं मालबाहक गाडी रोकिएको ईलाका प्रहरी कार्यालय जमुनाहाका ईन्चार्ज सई विष्णु गिरीले जानकारी दिए । पेट्रोलियम ट्यांकर सहित खाद्यान्न, कपडा, सिमेन्ट, आलु लगायत सामान बोकेका गाडी रहेको उनले बताए ।

रुपैडिहामा विगत ६ दिनदेखि रोकिएका ट्यांकर ।
रुपैडिहामा विगत ६ दिनदेखि रोकिएका ट्यांकर ।

भारतले पेट्रोलियम पदार्थ ल्याउन नदिएपछि नेपालगन्जमा पेट्रोल, डिजल, हवाई इन्धन र ग्याँसको अभाव हुन थालेको छ । अभाव हुन थालेपछि नेपालगन्जमा पनि जोर विजोर नियम लागु भएको छ । केन्द्रबाट आदेश आएको भन्दै एसएसबीले विशेषगरी पेट्रोलियम पदार्थ बोकेका ट्ंयाकर प्रवेशमा रोक लगाउनु परेको स्पष्ट पारेको छ । बिहीबारबाट रोकिएका ६० वटा पेट्रोलियम ट्यांकर रुपैडिहामा अलपत्र छन् । उक्त पेट्रोलियम ट्यांकरमा ७ सय ६० किलोलिटर डिजल, पेट्रोल र हवाई इन्धन तथा प्रति बुलेट १८ मेट्रीक टनका दरले २० वटा बुलेट गाडीमा ३ सय ६० मेट्रीक टन एलपी ग्याँस राखिएको छ ।
अहिले सम्म ६ वटा डिजल ट्यांकरलाई मात्र एसएसबीले छाडेको छ । उक्त ट्यांकरहरु आइतबार सिमा प्रवेश भएका थिए । अन्य ट्यांकर पनि सहज रुपमा छाडिदिन पटक–पटक आग्रह गर्दा एसएसबीले अटेरी गरिरहेको आयल निगमका क्षेत्रीय प्रमुख श्रीचन्द्र श्रेष्ठले दुखेसो पोखे । ‘हामीसँग भएको स्टक सिद्धिन लागिसक्यो, उताबाट ल्याउन दिइरहेको छैन,’ उनले भने । श्रेष्ठका अनुसार ६ वटा ट्यांकरबाट ७२ किलोलिटर डिजल मात्र भित्रिएको छ ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार बिहीबारदेखि यता यस नाकाबाट पेट्रोलियम पदार्थ बोकेका ट्यांकर सहित कुल १ सय ३७ वटा सवारी साधन मात्र भित्रिएका छन् । जस अनुसार बिहीबार ६६ वटा र शुक्रबार २९ वटा सवारी साधन भित्रिए । मधेसी मोर्चा र प्रहरीबीच दसगजा क्षेत्रमा उत्पन्न तनावका कारण शनिबार कुनैपनि सवारी साधन भित्रेनन् । आईतबार भने १७ वटा मालबाहक सवारी साधन भित्रिएको भन्सार प्रमुख राजेन्द्र हमालले बताए ।

Womui
Womui