बकराइदमा केही बिद्यालय खुल्ने भएपछि मुस्लिम समुदाय आक्रोशित

68

नेपालगन्ज, असोज ७–
मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठुलो पर्व बकराइदमा सरकारले सार्वजनिक विदा घोषणा गरेपनि बाँकेका केही निजि बिद्यालयहरुले बिद्यालय बन्द नगरेपछि मुस्लिम समुदाय आक्रोशित बनेको छ । मुस्लिम मुदायले शुक्रबार धुमधामका साथ बकराइद मनाउँदैछन् । बर्षमा एक पटक मात्र आउने यस पर्वमा जिल्लाका केही निजि बिद्यालयमा बिदा नगरिदा ती बिद्यालयमा अध्ययनरत मुस्लिम समुदायका बिद्यार्थीले इद मनाए पढाई छुट्ने भएको छ, भने बिद्यालय गए पर्वको नमाज लगायतका धार्मिक कार्यहरु छुट्ने भएको छ ।

देश हिन्दु राष्ट्र भएको बेलामा समेत इद, बकराइद, मोहम्मद डे र मोहर्ररम जस्ता ठुला पर्वहरुमा पूर्ण रुपमा सरकारी कार्यालय लगायत शैक्षिक संस्थाहरु बन्द हुने गरेकोमा अहिले नयाँ संविधानमा धर्मनिरपेक्ष घोषणा गरिएपछि बिदा नदिएर एक समुदायको धार्मिक भावनामाथि ठेस पु¥याउने कार्य गरिएको मुस्लिम समुदायका अगुवाहरुको धारणा छ । मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बकराइदमा सरकारले बिदा घोषणा गरिसकेपछि यदि कसैले त्यसको अवज्ञा गर्छ भने त्यसलाई कारवाही हुनुपर्ने जनाउदै जिल्ला शिक्षा कार्यालय बाँकेको ध्यानाकार्षण गराउने बताए ।

उनले सबै धर्म र सबै धार्मिक समुदायको पर्व संस्कृति र परम्पराको सम्मान गर्नु आवश्यक रहेको जनाउदै त्यसो नगरिए सद्भाव खलबलिने चेतावनी पनि दिए । यसैगरी मदरसा बोर्डका अध्यक्ष मौलाना मन्सुर अहमद आरफीले यति ठुलो पर्वका दिन यदि कसैले सार्वजनिक बिदा नदिएर बिद्यालय वा कार्यालय संचालन गर्छ भने उसले मुस्लिमहरुको अपेहलना गरेको मानिने बताए । बकराइदमा बिदाका लागि हालसम्म सरकारसंग संघर्ष आएको मुस्लिम समुदाय अब बिदा नदिने बिद्यालय बिरुद्ध आन्दोलित हुनसक्ने उनले चेतावनी दिए ।

बाँकेको नेपालगन्ज, कोहलपुर र राँझामा रहेका केही बिद्यालयले आफ्नो बिद्यालयमा मुस्लिम बालबालिका नभएको भनि बिदा दिएका छैनन् भने अन्य केहीले पढाई छुटेको भन्दै बिदा दिएका छैनन् । यसबारेमा बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकसँग प्रतिक्रिया माग्दा उनले यस्तो नहुनुपर्ने जनाउदै यदि कसैले गरेको छ भने छानविन गरेर कारवाही गर्न सकिने बताए । उनले सरकारले बकराइदमा सार्वजनिक बिदा घोषणा गरिसकेपछि सरकारको निर्णय मान्नु सबैको दायीत्व र जिम्मेवारी भएको बताए ।

Womui
Womui