इलेक्ट्रिक रिक्साको सहर नेपालगन्ज

175
अर्जुन ओली
अर्जुन ओली

नेपालगन्ज–रक्षाराम गडरियाले करिब चार वर्षसम्म खुट्टाले तानेर रिक्सा चलाए । अहिले उनी इलेक्ट्रिक रिक्सा सरर गुडाउँछन् । पहिले उनी अर्काको रिक्सा भाडामा ल्याएर चलाउथे भने अहिले आफ्नै लगानीमा इलेक्ट्रिक रिक्सा किनेका छन् । पहिले असिन पसिन भएर खुट्टाको बल लगाएर रिक्सा तान्ने उनी अचेल एक्सिलेटर थिचेर आरामसाथ रिक्सा गुडाउँछन् । यो रिक्सा चलाउन सजिलो र आरामदायी रहेको उनको अनुभव छ । ‘पहिलेको भन्दा आजभोलि धेरै सजिलो भएको छ,’ बनकट्टी–६ निवासी रक्षाराम भन्छन् ‘आम्दानी पनि केही बढेको छ ।’ उनको शैक्षिक योग्यता कक्षा ८ हो । गाउँमा नियमित रूपमा रोजगारी नपाएपछि उनले रिक्सा चलाउने बाटो रोजेका हुन् ।
‘रिक्साको भाडा दैनिक एक सय रुपैयाँ दिनुपथ्र्यो । आम्दानी चार÷पाँच सय हुन्थ्यो,’ रक्षारामले सुनाए । नेपालगन्जमा जब इलेक्ट्रिक रिक्सा भित्रियो, उनका दुःखका दिन हराए । एक महिनादेखि अहिले उनी नेपालगन्जमा इलेक्ट्रिक रिक्सा चलाउँछन् । दुई लाख १० हजार रुपैयाँमा रक्षारामले इलेक्ट्रिक रिक्सा खरिद गरेका हुन् । उनले थपे, ‘त्यसमध्ये एक लाख मात्रै घरको हो, बाँकी पैसा बैंकको ऋण हो ।’ उनको दैनिक आम्दानी अचेल दुई हजारदेखि २५ सय रुपैयाँ हुन्छ ।
मनिकापुर–२ का गुड्डु शर्माको दैनिकी अचेल नेपालगन्ज र रुपैडिहाका सडकमा बितिरहेको छ । बेरोजगार भएपछि वैदेशिक रोजगारीमा जाने निर्णयलाई परिवर्तन गरी उनमा इलेक्ट्रिक रिक्सा चलाउने मोह बढेको हो । ‘विदेश जाने योजना रोकेर रिक्सा चलाउन थालेको हुँ,’ उनले भने ‘चलाउन लागेको धेरै समय नभए पनि यसको सम्भावना राम्रै देखेको छु ।’ इलेक्ट्रिक रिक्सा चलाएर पनि मनग्य आम्दानी गर्न सकिने गुड्डु बताउँछन् । अब इलेक्ट्रिक रिक्सा चलाएरै जीवनयापन गर्ने उनको योजना छ । उनले रिक्सा चलाउन लागेको करिब १५ दिन मात्र भएको छ, बन्दले नगरक्षेत्रका ठूला सार्वजनिक सवारी साधन चल्न नपाएका कारण छोटो दूरीका यात्रु बोक्न उनलाई अचेल भ्याइनभ्याई छ । उनको निश्चित रुट नभए पनि यात्रुको चाप अनुसार चलाउँछन् । ‘कहिले नेपालगन्जबाट रुपैडिहासम्म बोक्छु, कहिले राँझा त कहिले खजुरासम्म पुग्छु,’ गुड्डुले प्रष्ट्याउँदै भने ‘सवारी हाम्रो भगवान् हुन् । जहाँ लैजान भन्छन्, त्यहाँ लैजानुपर्छ । रिक्सा भन्दा इलेक्ट्रिक रिक्सामा चढ्ने यात्रुलाई भाडामा केही सस्तो हुने उनको जिकिर छ ।

DSC03670 रक्षाराम र गुड्डुका यी भनाइले नै नेपालगन्जमा इलेक्ट्रिक रिक्सातिर आकर्षण बढ्दै गएको पुष्टि गर्दछ । नेपालगन्जमा इलेक्ट्रिक रिक्सा भित्रिएको धेरै समय भएको छैन । मानिसको शक्ति बिना चारवटा ब्याट्रीको सहायताले गुड्ने तीन पाङ्ग्रे साधन हो, इलेक्ट्रिक रिक्सा । रिक्साको बनावट अनुसार २ देखि ५ जना सम्म यात्रु अटाउँछन् । रिक्सा चालकको अनुभवमा ४ वटा ब्याट्री शत प्रतिशत चार्ज भएमा ६० किलोमिटरसम्म चलाउन सकिन्छ ।
दुई वर्ष यता नेपालगन्जमा छ्याप छ्याप्ती रूपमा चल्न सुरु गरेका हुन् । सडक विस्तारले इलेक्ट्रिक रिक्सा गुडाउन झनै सहज भएको चालकहरू बताउँछन् । इलेक्ट्रिक रिक्साको निश्चित तथ्यांक नभए पनि ५ सयको हाराहारीमा सञ्चालनमा रहेको ट्राफिक प्रहरीको अनुमान छ । इलेक्ट्रिक रिक्साप्रति यात्रुको आकर्षण बढेसँगै नेपालगन्जमा वर्षौ अघिदेखि सञ्चालित रिक्सा र टांगातिर यात्रुको रोजाइ कम परेको छ । खुट्टाले तान्ने रिक्सा र घोडाले तान्ने टांगा व्यवसाय छाडेर तिनै चालक इलेक्ट्रिक रिक्सातिर प्रवेश गरिरहेका छन् । उनीहरू इलेक्ट्रिक रिक्सामा सम्भावना खोजिरहेका छन् । खजुरा खुर्द–७ का साकिर अलिका तीन दाजुभाइ मध्य दुई दाजुभाइ शिक्षण र टेलर्स व्यवसायतिर लागे । साकिर भने इलेक्ट्रिक रिक्सातर्फ सम्भावना खोज्दै लागे । ‘आफ्नो काममा म अहिले सन्तुष्ट नै छु, मेहेनत अनुसारको आम्दानी भएकै छ,’ उनले भने । साकिरले झण्डै ५ वर्ष जति अर्काको रिक्सा चलाए । एक वर्षदेखि आफ्नै लगानीमा किनेर इलेक्ट्रिक रिक्सा चलाइरहेको उनी बताउँछन् । रिक्सा चलाएरै घरको सम्पूर्ण खर्च धानेको साकिरले बताए ।

DSC03667
कुनै समयमा टांगा व्यवसायले परिचित नेपालगन्जले पछिल्लो समयमा इलेक्ट्रिक रिक्साको सहरका रूपमा परिचय बनाएको छ । मध्य तथा सुदूरपश्चिमकै एक मात्र औद्योगिक सहर नेपालगन्जमा विभिन्न कामको सिलसिलामा चारैतिरका मानिस यहाँ आउँछन् । इलेक्ट्रिक रिक्सा व्यवसाय फस्टाउँदै जाँदा पढेलेखेका र बेरोजगार भएर बसेका युवाको जमात यतातिर आकर्षित भएको छ । रिक्सा चलाउन नेपालगन्ज बाहिरका युवा पनि ठूलो संख्यामा आएका छन् । त्यसको ज्वलन्त उदाहरण हुन, बर्दिया, सतपतिया गाउँका स्वामी रामदयाल चौधरी ।
उनी लगायत गाउँका ५÷६ जना युवाहरू इलेक्ट्रिक रिक्सा चलाउन नेपालगन्जमै डेरा गरी बसेका छन् । ‘ठूलो सहर भएकाले डेरा ल्याएर रिक्सा चलाउन नेपालगन्जमा आएका हौं,’ राम दयालले भने ‘कमाइ राम्रो हिसाबले भइरहेको छ ।’ उनले पनि ५ वर्ष जति रिक्सा चलाएर खुट्टा खियाए । एक वर्ष अघि मात्र २ लाख १० हजार जुटाएर इलेक्ट्रिक रिक्सा किनेका हुन् । रामदयाल भन्छन्, ‘यसमा आराम र आम्दानी दुवै छ ।’ बजारमा हिँड्डुल गर्ने जो कोही यात्रु अचेल इलेक्ट्रिक रिक्सामा बस्न रुचाउँछन् ।
नेपालगन्ज कारकाँदोकी गीता खड्का छोटो दूरीमा इलेक्ट्रिक रिक्सा बाहेक अन्य सवारी साधनमा चढ्न मन गर्दिनन् । ‘थोरै यात्रु बोकेर गन्तव्य स्थानमा छिटो र आरामसँग पु¥याउने भएको हुँदा प्रायः इलेक्ट्रिक रिक्सामै चढ्छु,’ उनले भनिन् ’अरु भन्दा भाडा पनि अलि सस्तो छ ।’ नेपालगन्जमा इलेक्ट्रिक रिक्सा भित्रिएपछि नै आफू बस्न थालेको गीताले बताइन् । गीता जस्ता थुप्रै यात्रुको प्रतिक्रिया लगभग उस्तै छ ।
यात्रुले रुचाएपछि इलेक्ट्रिक रिक्सा बिक्री हुने क्रम पनि बढेको छ । यी रिक्सा बिक्री गर्न नेपालगन्जमा तीनवटा सोरुम सञ्चालनमा रहेको बताइन्छ । पूर्व श्रम तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले पनि रिक्साको डिलर चलाइरहेका छन् । सादाव एण्ड कम्पनीका सञ्चालक राईका अनुसार अहिले नेपालगन्जमा तीन प्रकारका इलेक्ट्रिक रिक्सा भित्रिरहेका छन् । डिलर खोलेर आधिकारिक रूपमा बिक्री गर्ने आफूलगायत तीनवटा मात्रै रहेको उनले जानकारी दिए । ‘यी रिक्सा वातावरणमैत्री छन् । चलाउने र यात्रा गर्ने दुवैका लागि आरामदायी भएकाले यसको माग ह्वात्तै बढेको हो,’ राईले प्रष्ट्याए । इलेक्ट्रिक रिक्सा चलाउन बेरोजगार युवाहरू ठूलो संख्यामा संलग्न रहेको उनको भनाइ छ । आफ्नो कम्पनीबाट बिक्री भएका रिक्सा मात्र नेपालगन्जमा २ सयको हाराहारीमा रहेको उनले बताए । त्यसमध्ये आधा जतिको आफ्नै निजी र आधा जतिले अर्काको भाडामा लिएर चलाउने गरेको पूर्वमन्त्री राईले जानकारी दिए ।
‘स्वदेशमै इलेक्ट्रिक रिक्सा चलाएर पनि बेरोजगार युवाले राम्रो आम्दानी गर्न सक्ने माध्यम इलेक्ट्रिक रिक्सा हो, त्यसकारण रिक्सा खरिदमा बैंक तथा सहकारीले पनि लगानी गरिरहेका छन्,’ उनले थपे । यातायात मन्त्री छँदा नै तराई क्षेत्रमा इलेक्ट्रिक रिक्सा भित्र्याउने सोच जागेको स्मरण गराउँदै कम्पनीका सञ्चालक राईले स्पष्ट कानुन बनाएर यी साधनलाई व्यवस्थित गर्न सके समस्या नआउने सुझाव दिन्छन् । ‘रिक्सालाई यातायात कार्यालयमा दर्ता गरेर बिमाको व्यवस्था पनि तोक्नु प¥यो र भन्सार नतिरी जसले पायो त्यसले साना पार्टस ल्याएर इलेक्ट्रिक रिक्सा बिक्री गर्ने काम बन्द हुनु प¥यो ।’
पूर्वमन्त्री राईको भनाइले नै पुष्टि गर्दछ कि इलेक्ट्रिक रिक्सा सडकमा जति संख्यामा गुडिरहेका छन्, त्यसको अनुपातमा झिनो संख्यामा मात्र सरकारी अभिलेखमा छन् । यातायात कार्यालय भेरी नेपालगन्जमा अहिलेसम्म ७४ वटा मात्र दर्ता भएका छन् । यातायात कार्यालयका प्रमुख चेतप्रकाश उप्रेतीले अहिलेसम्म मुस्किलले एक सय वटा रिक्सा दर्ता गरिएको बताए । ‘हामीले खोज्दै हिँडेका छैनौ, उनीहरू पनि दर्ता गरिदिनुप¥यो भन्दै आएका छैनन्,’ उनले भने ‘जो आफ्नै इच्छाले दर्ता गराउन आउँछ, त्यसको रिक्सा दर्ता गरिदिएका छौं ।’
सरकारले इलेक्ट्रिक रिक्सालाई दर्ता गर्ने नियम बनाए पनि राजश्व भने लिँदैन । यसले गर्दा वार्षिक रूपमा सरकारको लाखौ राजस्व गुमेको छ । अर्कोतिर इलेक्ट्रिक रिक्सा चालक हुनका लागि कुनै मापदण्ड र अनुमति पत्र तथा यात्रु बिमाको अनिवार्य व्यवस्था नहुँदा यात्रा जोखिमपूर्ण रहेको यात्रु बताउँछन् । यातायात कार्यालयका प्रमुख उप्रेती भन्छन्, ‘यी रिक्साहरू सुरुमा स्थानीय निकायमा दर्ता गरेर चल्दै आएका थिए, भर्खरै मात्र हामी कहाँ दर्ता गर्ने प्रक्रिया सुरु भयो, ब्याट्रीबाट चल्ने साधनबाट राजस्व लिने सरकारी नियम नै छैन । इलेक्ट्रिक रिक्साका लागि टेम्पो चालकको अनुमति पत्रलाई अनिवार्य गराउँदैछौं ।’

Womui
Womui