वडाअध्यक्ष ओलीको पहलमा टेलिकमको टावर निर्माण

56

नेपालगन्ज– राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा नेपाल टेलिकमको टावर निर्माण गरिएको छ । वडा नम्बर २ का वडा अध्यक्ष मदन कुमार ओलीको पहलमा उक्त टावल निर्माण गरिएको हो ।

लामो समयदेखि वडा नम्बर २ टिकुलीपुर र राजपुरका स्थानीय बासिन्दा दूरसञ्चारको पहुँचबाट टाढा थिए । त्यस क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नहुने जस्ता समस्याले बासिन्दा पीडित थिए । टावर निर्माण भएपछि वर्षौदेखि रुखमा चढेर टावर खोज्नु पर्ने स्थानीयको समस्या समाधान हुने भएको छ ।

टावर खोज्न रुखमा चढ्नु पर्ने समस्या कसलाई सुनाउने रनभुल्लमा थिए राप्ती सोनारी वडा नम्बर २ स्थित टिकुलीपुर र राजपुर क्षेत्रका बासिन्दा । विस्तारै देश संघीयतामा होमियो र उनीहरुको आश पलायो । दूरदराजमा रहेका आफन्तसँग कुरा गर्ने वातावरण स्थानीय जनप्रतिनिधिले बनाइदिन्छन् भन्ने । सोही अनुरुप उनीहरुले चुनावमा भोट माग्न आउने जनप्रतिनिधि सामु अन्य विकास निर्माणसँगै दूरसञ्चार प्राधिकरणसम्म आफ्नो पहुँच पु¥याउनु पर्ने माग प्राथमिकता साथ राखे ।

नेकपा एमालेबाट निर्वाचित भएका राप्तीसोनारी वडा नम्बर २ का वडा अध्यक्ष मदनकुमार ओली आफू भोट माग्न जाँदा टेलिकमको टावर स्थापना गरिदिनु पर्ने स्थानीयले माग राखेको सम्झन्छन् । भोट माग्न गएको बेला आफूले जिते नेपाल टेलिकमको टावर स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका वडा अध्यक्ष ओलीले टेलिकमसँग समन्वय गरेर टिकुलीपुर र राजपुर क्षेत्रका बासिन्दालाई संचारसँग जोड्न सफल भएका छन् ।

हुन त उनले आफू जितेलगत्तै टावरका लागि समन्वय नगरेका भने होइनन् । विविध कारणवश अहिले उक्त क्षेत्रमा टेलिकमको टावर निर्माण भइसकेको छ । अध्यक्ष ओलीले अबको एक महिनाभित्र सेवा सुचारु हुने बताएका छन् ।

 

Womui
Womui