नरभक्षी बाघलाई नियन्त्रणमा लिन बाँकेका तीन निकायलाई ज्ञापन

45

नेपालगन्ज– बाँकेको राप्तीसोनारीमा आतंक मच्चाउँदै आएको नरभक्षी बाघलाई नियन्त्रणमा लिनका लागि जिल्लाका तीनवटा निकायलाई ज्ञापन पत्र बुझाइएको छ । जिल्ला प्रशासन कार्यालय, बाँके, बाँके राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयलाई आइतबार नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले ज्ञापन पत्र बुझाएको हो ।

पटकपटक गरी मान्छेको ज्यानै लिएकाले राप्तीपारिको क्षेत्रमा नरभक्षी बाघको आतंकका कारण त्यहाँको जनजीवन प्रभावित भएको ज्ञापन पत्रमा उल्लेख छ । दिउँसोका समयमा समेत घरबाहिर स्थानीय सहजै निस्कन सक्ने वातावरण नभएकाले उक्त नरभक्षी बाघलाई तत्काल नियन्त्रणमा लिई राप्तीपारिको जनजीवन सहज बनाइदिनुका साथै बाघको आक्रमणबाट मृत्यु भएकाा परिवारलाई उचित क्षतिपूर्ति दिनु पर्ने ज्ञापन पत्रबाट माग राखिएको छ ।

ज्ञापन पत्र बुझ्दै बाँकेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले मान्छेको ज्यानै जाने गरी भएको घटनाप्रति दुःख व्यक्त गर्दै बाघलाई नियन्त्रणमा लिन पहल गर्ने बताए ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष तुलाराम खत्रीलगायतको टोलीले उक्त ज्ञापन पत्र बुझाएको थियो ।

यसअघि गत शनिबार मात्रै राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ६० वर्षका धनबहादुर चलाउनेलाई बाघले आक्रमण गरी मारेको थियो । एक महिनाअघि पनि उक्त वडाकै २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ पर्सोनाकी ५३ वर्षीया लिला बिष्टको बाघको आक्रमणबाट मृत्यु भएको थियो । गत भदौं अन्तिम सातायता मात्रै बाँकेमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ ।

Womui
Womui