राप्तीसोनारीका २२३ छात्राले पाए साइकल

43

बाँकेको राप्ती सोनारी गाउँपालिकाले स्कुल छाड्ने दर घटाउन छात्राहरुलाई साइकल वितरण गरेको छ । पालिकाले चरणबद्ध रुपमा पालिकास्थित विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिरहेको हो ।
बुधबार चौथोे चरणको साइकल वितरण कार्यक्रम अन्तर्गत पालिकाले २२३ छात्रालाई साइकल वितरण गरेको छ । पालिकाले वडा नम्बर ६ र वडा नम्बर ७ मा रहेका विद्यालयका २२३ छात्रालाई साइकल वितरण गरेको छ । राप्तीसोनारी ६ पनेरीको सरस्वती माध्यमिक विद्यालयका अध्ययनरत ६१ जना, वडा नम्बर ६ कै सिद्धेश्वर माध्यमिक विद्यालयका १०६ जना, वडा नम्बर ७को नेपाल राष्ट्रिय माविका ३९ र वडा नम्बर ७ कै अम्मरज्योति माविमा अध्ययनरत १७ छात्रालाई साइकल वितरण गरेको हो ।
छोरी शिक्षालाई प्रोत्साहन गर्न र महिला सशक्तीकरणको पाटोलाई शिक्षासँग जोड्न पालिकाले सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा पढ्ने छात्राहरुलाई आफ्नै लगानीमा चरणबद्ध रुपमा निशुल्क साइकल वितरण गर्दै आएको छ ।
पालिकाले शिक्षालाई प्राथामिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै अध्यक्ष थारुले पालिकाका छात्राको विद्यालयसम्मको पहुँच पुराउन, स्यानेटरी प्याड वितरण, जेहेन्दार एवम् विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्तिदेखि निशुल्क साइकल वितरण गरेको बताए । गाउँपालिकाले सामुदायिक विद्यालय र क्याम्पसमा अध्ययनरत करिब ११ सय १७ जना छात्रालाई साइकल वितरण गरिने अध्यक्ष थारुले बताए ।
राप्ती सोनारी गाउँपालिकाले करिब ८० लाख बजेटमा ११ सय बढी छात्रालाई साइकल वितरण गरिने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाहीले जानकारी दिए ।

Womui
Womui