६ नम्बर वडा राप्तीसोनारीको तेस्रो बालविवाह मुक्त वडा घोषणा

97

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ लाई सोमबार एक कार्यक्रमका बीच बालविवाह मुक्त वडा घोषणा गरिएको छ । राप्ती सोनारीको वडा नम्बर ६ पालिकाकै तेस्रो बालविवाह मुक्त वडा घोषणा भएको हो ।
वडा नम्बर ६ का वडा अध्यक्ष जनकबहादुर थारुको अध्यक्षता एवम् राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडाध्यक्ष थारुले बाल विवाहमुक्त वडा घोषणा तथा प्रतिबद्धता पढेर सुनाएपछि पालिका उपाध्यक्ष धनी कुमारी खत्रीले उक्त प्रतिबद्धतापत्र वडालाई हस्तान्तरण गरी बालविवाह मुक्त घोषणा गरेकी हुन् ।

घोषणासभामा सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्दै स्याक नेपालका बालविवाह रोकथाम परियोजना प्रमुख जगदिश थापाले वडामा पछिल्लो एक वर्षमा ५ प्रतिशत मात्र बालविवाह भएको बताए ।
२० प्रतिशत भन्दा कम बालविवाह भएको अवस्थामा बालविवाह मुक्त घोषणा गर्न मिल्ने निर्देशिका अनुसार राप्ती सोनारी ६ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको थापाले बताए । ‘हामी सबैको प्रतिबद्धता बालविवाहविरुद्धको साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ वडा नम्बर ६ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो । घोषणा सभा–२०७८ लाई सम्बोधन गर्दै प्रमुख अतिथि राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्रीले यस अभियानमा साथ दिने संघसंस्थाहरुलाई धन्यबाद दिँदै बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने बताइन् ।

उनले केही वडालाई पनि अबको केही महिनाभित्र बालविवाह मुक्त घोषणा गर्ने तयारी भइरहेको बताउँदै राप्ती सोनारी गाउँपालिकालाई पूर्णरुपमा बालविवाह मुक्त गरिसक्ने प्रतिबद्धता व्यक्त गरिन् । राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले राप्ती सोनारीको तेस्रो वडाका रुपमा वडा नम्बर ६ बालविवाह मुक्त वडा घोषणा भएको क्षण ऐतिहासिक भएको बताउँदै बालविवाह मुक्त अभियानमा स्याक नेपालले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताए ।
राप्ती सोनारी गाउँपालिका वडा नं. ६ को विभिन्न टोलमा १ सय ५० जनामा गरिएको सर्भेक्षणको आधारमा बालअधिकार संरक्षण समितिको सिफारिसमा सो वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको गाउपालिकाका वडा नं. ६ का वडाध्यक्ष जनक बहादुर थारुले जानकारी दिए ।

वडामा गरिएको सर्वेक्षण अनुसार २० प्रतिशतभन्दा तल अर्थात् सो वडामा १९ दशमलव १० प्रतिशत बालविवाहको अवस्था रहनुका साथै बालविवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको हो । त्यस अवसरमा वडालाई बालविवाह मुक्त घोषणा गर्न सहयोग गर्ने संघसंस्था र व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

तस्बिरहरुः सम्झना दलामीको फेसबु्कबाट

Womui
Womui