![](https://www.chhinchhinkhabar.com/wp-content/uploads/2021/10/Sabitri-article-1024x540.jpg)
प्यूठानको नौवहिनी गाउँपालिका वडा नम्बर ८ फोप्ली निवासी हिरा जिसीले पानी पर्ने बित्तिकै भगवान पुर्कान थाल्छिन् । उनी यो गाउँमा विहे गरेर आएको ५५ वर्ष भयो । उनको अनुभवमा विक्रम संवत २०७२ साल उता कुनै ठूलो पहिरो गएको थिएन । विक्रम संवत् २०७२ सालमा डोजर प्रयोग गरेर सडक विस्तार गर्न थालेपछि पहिरोको समस्यामा आफुहरु परेको उनको अनुभव छ । पहिरो जान थाले सँगे हिराका कैँयौ रातहरु नसुतेरै वितेका छन त कतिपय रातहरु हार—गुहारमै बितेका छन् । पहिरो जाने क्रम बढ्दै जाँदा विक्रम संवत २०७३ सालमा पहिरोले उनको सबै घर पुरेको थियो । उनी घर भित्र निदाएकी थिइन । उनका छोरा बुहारीले नउठाएको भए आज हिरा जिउँदो रहने थिइनन्।उनले टेक्ने लौरी पनि पहिरोमा भासियो उनी मुस्किलले भाग्न सफल भइन । हिरा विस्तारै बामे सरेर बाहिर निस्किन पुगिन। बाहिर निस्कदा पहिरोले सबै गाउँ पुरीसकेको थियो । त्यसपछि उनी पहिरोको जोखिम कम छ कि भन्दै आफ्नो बहिनीको घरमा आश्रय लिन पुगिन । उनका पशुचौपायाहरु ,घर र खेतीयोग्य जमिन पहिरोले क्षती गर्यो । हिरा जिसीको जस्तै पिडा अर्का ६० वर्षीय महिला देवकला रोकायले पनि भोगिन । उनी फोप्लीमा विहे गरेर आउदा मात्र १७ वर्षकी थिइन । उनी पनि बाटो खनेरै पहिरो गएको बताउँछिन । पहिरो जाँदा उनको परिवारले स्थानिय स्कुलमा शरण लियो । उनका श्रीमान काम गर्न भारत गएका थिए । आफ्ना तीन छोरा र दुई छोरी काखी च्यापेर देवकला ज्यान बचाउन बेस्सरी दौडिन पुगिन । यो पिडा उनलाई प्रत्येक बर्षको झरीमा हुन्छ । यी त उदाहरणी पात्र हुन, यो पीडा पहिरोका जोखिम क्षेत्रका सबै महिलाहरुलाई छ । उनीहरुलाई आफ्नो ज्यान सँगै परिवारको ज्यान जोगाउनु पर्ने सामाजिक बाध्यता छ । त्यसमा पनि के खाने र खुवाउने भन्ने पिरलो महिलाहरुले नै सहन गर्नुपर्ने हुन्छ । जसले गर्दा महिलाहरु पहिरो, बाढी, भूकम्प तथा हिमपात जस्ता विपदमा पुरुषको तुलनामा धेरै नै प्रताडित हुने गर्छन ।
![](https://www.chhinchhinkhabar.com/wp-content/uploads/2021/10/33333333333333333.png)
वर्षायाम शुरू भएसँगै पहिरोको जोखिम र त्रास समेत बढ्दै जान्छ । यसवर्ष काक्तिक लागेपछि लगातार परेको बेमौसमी बर्षातका कारण फोप्ली बासी कोहि पनि ढुक्कले निदाउन सकेनन । यसभन्दा अगाडिको पहिरोले फोप्ली, बहाने, खवाङ, पूजा, अर्खा, र जवारालगायतका गाउँहरूमा नोक्सानी पुर्यायो। फेरि तिनै दिन दोहोरिने हुन कि भन्ने त्रासमा रहेका छन् स्थानीयहरु । विक्रम संवत २०७३ सालमा नौवहिनी गाउँपालिकामा पहिरो जाँदा २६ जनाले ज्यान गुमाए । यसभन्दा अगाडि यो गाउँमा यति ठूलो पहिरो नगएको स्थानिय ६८ बर्षिय गोपाल घिमिरेले बताए । उनका अनुसार विक्रम संवत् २०७४ सालमा फेरी अर्को ठुलो पहिरो गयो । त्यतिबेला पनि गाउँमा बिचल्ली भयो । उनी भन्छन्“पानी प¥यो भने एकै पटक ह्वार्रर पर्छ । पहिला जस्तो पानीको मौसममा पानी पर्देन । बेमौसममा हुने अति बृष्टिले यहाँको रातो माटो सबै बगाएर घर नै पुरिदिन्छ । त्यसैमा पहाडै रातो हुने गरी खोलेका सडकका ट्रयाकले झनै जोखिम बढाएको छ । स्थानिय तहका जनप्रतिनिधि अझै बाटो ठुलो बनाउने र डोजर लगाउने योजनामा छन, मलाई यो कुराले पिरोलेको छ ।”
यसरी निरन्तर रुपमा पहिरो गइरहँदा यसको असर सबैभन्दा धेरै महिलाहरुमा नै परेको छ । यहाँका अधिकांश पुरुषहरु धन आर्जन गर्न भारत र तेस्रो मुलुकसम्म पुग्ने गर्छन । त्यतिबेला यहाँका महिलाहरुले थुप्रै मानसिक र शारीरिक समस्या झेल्नु पर्छ ।
![](https://www.chhinchhinkhabar.com/wp-content/uploads/2021/10/44444444444444444.png)
रातभरि पहिरो रोक्न जोखिम मोलेर भल काट्छन् महिलाहरु
ठूलो पानी पर्ने बित्तिकै घरभित्रै पानीको भल पस्ने समस्याले फोप्लीका महिलाहरु रातारात भल काट्न घरबाहिर निस्कन्छन् । ज्यानको जोखिम मोलेर उनीहरु घर परिवार बचाउन मेहनत गर्छन । हिमा जिसी ४९ बर्षकि भईन । उनका ३ वटा छोरी र २ वटा छोरा छन । ति छोराछोरी बचाउन उनले एक्लै कोसिस गर्छिन । त्यसैमा पशुचौपायको चिन्ता । खेतबारी सबै पहिरोले सखाप पार्ला भन्ने अर्को चिन्ता । यस्तै चिन्तै चिन्ताका बापजुत पनि यहाँका महिलाहरु बस्ति जोगाउन भल काट्न तयार छन । अर्का स्थानिय लक्ष्मी घर्ति मगर भन्छीन,“ अली —अली झरी पर्दा साथ कोदालो बोकेर दौडिहाल्छम भल काट्न । हामीहरु क्रासमै बाचेका छम, कहाँ जाने, अब यो ठाउँ छोडेर जाने ठाउ पनि कतै छैन । ”
भौगोलिक बिकटता त्यसैमा मनपरी खोलिने सडकका ट्रयाक अनि वातावरणीय प्रभाव मुल्याङकन नगरीकन गरीने विकासे कामले फोप्लीका महिलाहरुको जीवन असहज भइरहेको छ । यो क्रम बढ्दै गइरहेकाले उनीहरुमा चिन्ता थपिदै गएको छ । स्थानिय दुमन्ता बोहोरा मगर ३६ बर्षकि भइन । उनी खेतियोग्य जमिन जोगाउन नियमित पानीको भल छेक्ने कोसिस गर्छिन । यसरी कोसिस गर्दा गर्दे पनि ठुलो पहिरो आउँदा दुमन्ताले २०७३ सालको पहिरोमा घरको सबै रासन गुमाउन पर्यो । ४ वटा छोराछोरी मुस्किलले जोगाएकी दुमन्ता त्यो दिन सम्झेर अहिले पनि भावुक हुने गर्छिन । दुमन्ता स्थानिय तहको जनप्रतिनिधि पनि हुन । आफु वडासदस्य भएतानि सडक मनपरी नखनौ भनेर उठाने गरेको आवाजको सुनुवाई नहुने गरेको उनले बताइन ।साउन लागेपछि हिँउद नलागेसम्म कति बेला भल काट्न जानुपर्ने हो भन्ने कुराले पिरोल्छ दुमन्तालाई ।
![](https://www.chhinchhinkhabar.com/wp-content/uploads/2021/10/555555555555555555.png)
पहिरो जाँदा महिलाहरु पेटभरि खानसमेत पाउँदैनन्
पहिरो जाँदा घरमा भएको सबै अन्नपात पहिरोले पुर्ने गर्छ । घरभित्रका सामाग्रीहरु केही प्रयोग गर्न लायक हँुदैनन् । त्यसपछि सुरक्षित छिमेकी यात सार्वजनिक स्थलको भर पर्नु पर्ने हुन्छ । पहिरो जाँदा कैयौँ रातहरु भोक—भोकै गुजारेको स्थानीय लक्ष्मी घर्ती मगर बताउँछिन् । छिमेकीले दया गरेर खाना दिए खाने नत्र भोकै यात एक छाक खाएर कम्मर कस्नु पर्ने अवस्था रहेको उनको भनाइ छ । लक्ष्मीले ४ दिनसम्म भोकै बसेको अनुभव सुनाइन् । उनका साथमा रहेका छोराछोरीले पनि यो समस्या झेले । अर्का स्थानीय हिमा जिसीले पनि कैयौँ रातहरु भोकै गुजारेकिछिन् । स्थानीय पुट बहादुर पुन मगरको जहानले पनि एक संस्थाले दिएको एक बोरा चामलले केहि दिन गुजार्न सक्यो । त्यसपछाडि फेरि आर्थिक समस्या सुरु भयो । पहिरोमा ३ वटा लैना भैसी ,एक हल गोरु ,५ वटा बाख्रा र एउटा बाच्छो गुमाएको परिवार बाँच्न त सफल भयो तर अहिले पनि दैनिकी असहज नै छ । एकातर्फ कसरी बाँच्ने भन्ने चिन्ता अर्को तर्फ ज्यानको जोखिम यी दुबै चुनौतीका बीच फोप्लीका महिलाहरुले घर धानेर बसेका छन् ।
खानेपानी र स्वास्थ्यसरसफाइको पनि उस्तै समस्या झेल्दै महिलाहरु
पहिरो आउँदा पानीको मुहान पनि पुरीदिने गर्छ । खानेपानीका पाइपहरु बिचमा छुट्ने गर्छन ।त्यसपछि फोहोर पानीको प्रयोग गर्न महिलाहरु बाध्य हुन्छन । भौगोलिक बिकटता भएकाले तुरुन्तै राहात दिन कोहि आउन सक्ने अवस्था पनि हुँदैन । यस्तो अवस्थामा महिलाहरुको दैनिकी निकै कष्टकर हुने गर्दछ । स्थानिय लक्ष्मी घर्तीमगर भन्छिन,“हामी बस्ने स्कुलमा सरसफाई हुदैन । शौचालयमा पानी समेत हुदैन । पानी धेरै टाढा बाट लिएर आउनुपर्छ । धेरै जना भएको हुँदा त्यो पानी पनि पुग्दैन ।”पहिरो गएकै अवस्थामा लक्ष्मी विरामी पनि परिन । तर उनले त्यतिबेला सिटामोल पनि पाउन सकिनन् । भाग्य बस लक्ष्मी बाच्न सफल भइन । हिडेर हस्पिटल जाने समेत बाटो नहुने हुँदा त्योबेला झाडापखाला जस्ता महामारी भएमा झनै जोखिम बढ्ने स्थानियहरु बताउँछन । त्यसैमा महिनावारी हुँने तथा सुत्केरी हुने महिलाहरुको पिडा कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । यस्तो समस्याबाट प्रताडित भएका महिलाहरुले पहिरो जादा थुप्रै मानसिक समस्या झेल्नुपर्ने हुन्छ । यो समस्या अहिले पनि यहाँका महिलाहरुले भोगिरहेका छन् ।
पहिरोको जोखिम कम गर्न स्थानीय महिलाहरुको प्रयास
पहिरोको जोखिमको असर सबैभन्दा धेरै भोग्ने फोप्लीका महिलाहरु पहिरोको जोखिम कम गर्न भिरालो ठाउँहरुमा बासको प्रयोग गरी जैविक तटबन्धन गर्न थालेका छन । यसरी जैविक तटबन्धन गर्दा पहिरोको जोखिम कम हुने वैज्ञानिक मान्यता अनुसार महिलाहरुले समुह निर्माण गरी पहिरोको जोखिम कम गर्न प्रयास गरेको स्थानिय युवा अगुवा राम कुमार घिमिलेले बताए । उनले यो प्रयासपछि पहिलेको तुलनामा पहिरोको जोखिम कम भएको बताए । विक्रम संवत् २०७४ सालयता यो प्रयासपछि ठुलो बर्षामा पनि धेरै क्षती नभएको उनले बताए । पहिरोको पिडामा आफै परेका महिलाहरु आफै सक्रियतापुर्वक पहिरो नियन्त्रणको काममा लागेको स्थानिय पहिरो पिडित महिला देवकला रोकायले बताइन । महिलाहरुले वन जोगाउने मात्र नभई बृक्षारोपण समेत गर्ने गरेको उनको भनाई छ । जलवायु परिवर्तनको असर सँग जुध्दै संरक्षणको काममा लागेको यो प्रयास अनुकरणीय रहेको फोप्लीमा रहेर संरक्षणको क्षेत्रमा काम गर्दे आएका एक गैर सरकारी संस्थामा कार्यरत भास्कर चौधरीले बताए । महिलाहरुमा पलाएको संरक्षण चेतनाले भविष्यमा हुन सक्ने संकट केहि कम गर्न सकिने उनको भनाई रहको छ । यस्तो प्रयास अन्य क्षेत्रमा पनि हुनुपर्ने उनी बताउँछन् ।
![](https://www.chhinchhinkhabar.com/wp-content/uploads/2021/10/6666666666666666.jpg)
फोप्लीको भौगोलिक अवस्था
प्यूठानको नौवहिनी गाउँपालिका वडा नम्बर ८ मा पर्ने फोप्ली समुन्द्री सतहबाट १६०० देखि १८०० मिटर उचाईमा रहेको छ । यो जिल्लाको ठाडो उचाई स्थानमा रहेको छ । देशव्यापी रुपमा गएको भूकम्पका बेला स्थानीयले आफ्नो जमिन नराम्ररी फुटेको बताएका थिए। यसै त्रममा विक्रम संवत २०७३ सालमा श्रावण ६ देखि ११ गतेसम्म निरन्तर भारी वर्षा भएको थियो । त्यसपछि गाउँमा अप्रत्यासित घटना घट्न गयो । २ दर्जन भन्दा धेरैले ज्यान गुमाउनु परेको त्यो दिनले फोप्लीबासीलाई आतंकित बनाएको छ । त्यसबेला पहिरो सडक छेउ र ठाडो उचाई को छेउमा गएको थियो। स्थानीय जनताको घर र भवन माटो र ढुंगाले भरिएको थियो । केही मानिस आफ्नो ज्यान जोगाउन सफल भए । ठूलो पहिरोले गर्दा उनिहरुले आफ्नो गाईवस्तु र सम्पत्ति गुमाए। त्यसपछि मानिसहरू घरबारविहीन र निस्सहाय भए। विपत्तिपछि महिला, केटाकेटी र वृद्धावस्थाका मानिसहरू भोकाएका थिए र अझ धेरै कठिनाइहरूमा परेका थिए। विद्यार्थीहरू आफ्नो स्कूलमा सामेल हुन सकेनन्। सबै जना थप विपत्तिदेखि डराए । फोप्ली स्कुल पहिरो पिडितहको लागि घर बन्न पुग्यो ।
फोप्लीमा पहिरो जानुको कारण
फोप्ली ठाडो उचाई भएको क्षेत्रमा रहेको छ ,जहाँ चट्टान र पत्थर कम हुन्छ । माटोको मात्रा चट्टानभन्दा बढी हुन्छ । यस क्षेत्रमा वनफँडानी धेरै देखिएको छ । त्यहाँ पाइने काँडाका प्रजातिहरू देखिन्छन् ।अर्को पहिरोको मुख्य कारण ग्रामीण सडक निर्माण नै हो । देशव्यापी रुपमा गएको भूकम्पका बेला अधिकांश ग्रामीण सडक खण्डमा जमिन नराम्ररी फुटेको थियो । त्यसैमा सडक खन्ने क्रम बढेसँगै फोप्ली नराम्ररी प्रभावित हुन पुग्यो । त्यसैमा भारी वर्षाका बेला पहिरोले गाउँ नै प्रभावित हुन्छ । प्युठानमा ठुलो पहिरो गएका बेला केही भूगर्भविद्हरू त्यहाँ पुगेका थिए । उनिहरुले विपद्पछि त्यस क्षेत्रको अध्ययन गरे । त्यस अध्यनबाट फोप्ली क्षेत्र बसोबासका लागि अनुचित रहेको देखियो । तर पनि स्थानिय त्यहि स्थानमा बस्न बाध्य छन । फोप्ली बासीलाई सो स्थान अहिले झनै असुरक्षित बन्दै गएको छ । स्थानिय सरकारले नयाँ —नयाँ सडकको ट्रयाक खोलिरहदा स्थानियको निन्द्रा गुमेको छ । पुर्खादेखि बस्दै आएको ठाउँबाट विस्थापित गर्नुभन्दा यसै स्थानलाई सुरक्षित गर्नुपर्ने स्थानिय युवा राम कुमार घिमिरेले बताए ।
विपत्तिपछि पानीको छिद्रहरू नासिन्छन र नियमित पानीको बहाव नै खलबलिन्छ। पुरानो पानीको समेत मुहान सुक्छ । बाह्रै मास पानी प्रर्याप्त मात्रामा आउँदैन । जसले गर्दा महिलाहरु घण्टौ घण्टा गाग्री बोकेर पानी लिन जान बाध्य छन । सबैका घरमा नियमित पानी आउदैन । एकातर्फ घरको अन्य काम अर्को तर्फ पानीको जोहो गर्नुपर्ने अवस्था । जसका कारण महिलाहरुको दैनिकी विपदका कारण पुर्ण रुपमा प्रभावित छ ।
![](https://www.chhinchhinkhabar.com/wp-content/uploads/2021/10/77777777777777.jpg)
मनपरी बाटो नखन्न स्थानीयको सुझाव
स्थानिय बुद्ध घर्ति भारतको दिल्लीमा नोकरी गर्छन ।उनका घरपरिवार सबै फोप्लीमै छन । पहिरोले उनको घर र गोठ दुबै भत्कियो । विस्थापित भएर परको जग्गामा घर बनाए । त्यहाँ पनि जोखिम उस्तै छ । दुहुनो भँैसी र बाख्रा पाठा सबै पहिरोमा पुरिएपछि उनको परिवार निकै दुःखी बनेको छ । उनकी श्रीमतीले पहिरो गएको खबर उत्तिबेलै टेलिफोनमा जानकारी गराएपनि उनी तुरुन्तै नेपाल आउन सक्ने अवस्था थिएन । उनले मापदण्ड अनुसार बाटो नबनाउँदा समस्या आएको बुझाई व्यक्त गरे । उनले स्थानिय सरकारले बाटो बनाउदा भलकुलो बनाएर बाटो बनाउनुपर्ने र मनपरी डोजर प्रयोग नगर्न आग्रह गरे । अर्का स्थानिय लक्ष्मण घिमिरे गाउँमा ठुलो पहिरो जाँदा मलेसियामा थिए । मानसिक रुपमा थुप्रै समस्या झेलेका घिमिरेको मन अहिले पनि त्यो घटना सम्झेर आक्तिने गर्छ । उनी भन्छन,“स्थानिय तहले बाटो बनाउदा खेरी पहिरो नजाने गरी तटबन्ध गरिदिएको भए राम्रो हुने थियो ।”
स्थानिय मिन बहादुर जिसी यस बिषयमा स्थानिय सरकार गम्भीर बन्नुपर्ने बताउँछन् । फोप्लीका युवा अगुवा रामकुमार घिमिरेले ठाउँ—ठाउँमा ढल निकास गर्न आवश्यक रहेको बताए । साथै उनले पहिरो जादा आश्रय लिने सामाजिक भवन बनाउन पनि आवश्यक रहको बताएका छन् । यो स्थानमा भुकम्प जादा पनि असरहरु देखा पर्ने भएकाले सार्वजनिक बलियो भवनको आवश्यकता महसुस गरेको घिमिले बताए । घिमिरेका घरपरिवार पनि मुस्किलले पहिरोबाट बाचेको बताउदै उनले भने ,“ पहिरो गएको दिन राती गोठमा मेरो जहान सँगै सासु आमा पनि आउनु भएको थियो । म घर बाहिर थिए । उहाँलाई निन्द्रा परेको रहनेछ । उहाले पहिरो गएको थाहाँ पाउने विक्तिकै सबैलाई भगाउन सफल हुनुभयो । त्यसपछि त्यो गोठ र बारी सबै पुरीयो । यो घटना सम्झेर अहिले पनि मेरो मन झसङ्ग हुन्छ । ”
यस्ता समस्या सँग जुधेका फोप्ली बासीले नयाँ बाटो खन्ने भन्दा पनि पुरानै बाटोलाई हिड्न लायक र सुरक्षित बनाउनुपर्ने माग राख्दै आएका छन । उनीहरुले बाटो खन्नुभन्दा पहिला वातावरण प्रभाव मुल्याङ्कन गर्नुपर्ने माग राख्दै आएपनि स्थानिय तहले यस बिषयमा खासै चासो नदेखाएको गुनासो गरेका छन। एक स्थानियले नाम नबताउने शर्तमा भने,“वडाअध्यक्षले आफ्नो किसिमले योजना बनाउँछन । त्यो योजनाबारे हामीलाई केही थाहाँ हुदैन । पछि एक्कासी बाटोमा डोजर उभिएको देखिन्छ । नोक्सानी भोग्ने हामी नै हुन्छौ । वातावरणीय अध्ययन गरेको भए बाटो खन्ने बिक्तिकै हाम्रो गाउँमा पहिरो किन जान्थ्यो । अहिले पनि सडक खन्ने भनेर धेरै योजना अगाडि सारिएको कुरा थाहाँ भएको छ । यस्तै हो भने फोप्ली गाउँबासी सबै बिस्थापित हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न ।”
के गर्दे छ त स्थानीय सरकार ?
पहिरोको जोखिम आकलन हुँदा हुँदै पनि नौवहिनी गाउँपालिका वडा नम्बर ८ मा नयाँ सडक बनाउने क्रम बढेको बढ्यै छ । स्थानिय तहमा जनप्रतिनिधि आइसकेपछि वडा नम्बर ८ मा लुपलुङ फोप्ली हुदै ७ नम्बर वडा सम्म,अधेरी खोलादेखि वडा नम्बर ८ को वडा कार्यालय हुँदै प्युठान नगरपालिका सम्म,वडा नम्बर ८ को खैरापुर देखि पालकत्री सम्म,लुपलुङ बाट मौवा रुख हुँदै बुढीकट्टी सम्म बाटो पुराउने काम भएको छ । यो कामलाई स्थानिय तहले उपलब्धीपुर्ण काम मानेको छ । अझै नयाँ बाटो बनाउने अरु पनि योजनाहरु पास भइसकेका छन । केहि प्राविधिक र इन्जिनियरको सल्लाह अनुसार बाटो विस्तार गरिएको वडा नम्बर ८ का वडाअध्यक्ष ओबिराम विकले बताए । गैर सरकारी संस्थाको सहयोगमा बासको जैविक तटबन्धन गर्ने काममा सहयोग गरेको भएपनि पहिरो नियन्त्रणका लागि वडाबाट अन्य कुनै कार्यक्रम तय नभएको वडाअध्यक्ष विकले बताए ।
उता नौवहिनी गाउँपालिकाका अध्यक्ष शिव रिजालले यस अगाडिका बर्षमा पहिरो नियन्त्रणकै लागि भनेर फोप्लीमा कुनै बजेट बिनियोजन नगरेको बताए । यसबर्षदेखि पहिरो नियन्त्रणको लागि भनेर गाउँपालिकाले २० लाख रुपैँया विनियोजन गरेको उनले जानकारी दिए । उनले यसअघि पहिरोको लागि मात्रै नभएर विपदका लागि भनेर एकमुष्ट बजेट बिनियोजन गर्ने र विपदका बेला राहात वितरण गर्ने गरेको बताए । स्थानियको माग अनुसार अबका दिनमा पहिरो गएको स्थानमा जाली लगाउने र तटबन्ध गर्ने कार्यलाई अगाडि बढाइने उनले आश्वासन दिए ।
यो रिपोर्ट कोप २६ का लागि ब्रिटिस काउन्सिल नेपालको सहयोगमा तयार पारिएको हो ।
![](https://www.chhinchhinkhabar.com/wp-content/uploads/2020/04/1chhin-logo.png)