कोहलपुरका स्वास्थ्य शाखा प्रमुखले कोभिड फोकल पर्सनलाई कुटे

83

कोहलपुर/ कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुखले सोही पालिकाका कोभिड फोकल पर्सन माथि कुटपिट गरेका छन् । कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले सोही शाखाका सिनियर अहेव तथा कोभिड फोकल पर्सन गेहराज खनाललाई कुटपिट गरेका हुन् । शुक्रबार बिहान करिब ११ बजेतिर कोभिडका लागि औषधि खरिद गर्ने बिषयमा विवाद भएपछि एकाएक ठकुरीले तथानाम गाली गर्दै कुटपिट गरेको पीडितले बताएका छन् ।

कार्यालयको कार्य कक्षमा नै आफु माथि मुक्का प्रहार भएपछि पीडित खनाल भागेर कार्यालय प्रमुखको कार्यकक्षमा गएको श्रोतले बतायो । शाखा प्रमखबाट नै दादागिरी शैलीमा कुटपिट भएपछि न्यायको माग गर्दै पीडित खनाल ईलाका प्रहरी कार्यालय कोहलपुरमा पुगेका छन् । उनले कोहलपुर नगरपालिका कार्यालयमा निवेदन पेश गरेका छन् भने ज्यू ज्यानको सुरक्षा गरी घट्नाको छानविन गरिपाँउ भन्दै ईलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दर्ता गरिसकेका छन् ।

किन कुटिए गेहराज ?

कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले कोभिड फोकल पर्सन गेहराज खनाललाई कोभिडका लागि औषधि आवश्यक भएको भन्दै टिप्पणीमा हस्ताक्षर गरिदिन बिहिबार करिब ४ बजेतिर टिप्पणी पठाएका थिए । उक्त टिप्पणीका बिषयमा आवश्यक औषधि किन्न फोकल पर्सन खनाल राजि भएका थिए तर के कस्तो औषधि खरिद गर्ने हो त्यसको लिष्ट उपलब्ध गराउन भनेका थिए । शुक्रबार बिहान करिब ११ बजेतिर सोही टिप्पणीका बिषयमा पुनः फोकल पर्सन खनाल कहाँ कर्मचारी गएपछि उनले लिष्ट माग गरेका थिए । लिष्ट छैन हस्ताक्षर गरिदिनुस भन्दा हस्ताक्षर गरेको तर लिष्ट नपाउदा सम्म मिल्दैन भनेर टिप्पणी लिन खोज्दा च्याएको थियो । यसरी टिप्पणी च्यातीएपछि सो टिप्पणी ल्याएर खनालकहाँ आएका कर्मचारी स्वास्थ्य शाखा प्रमुख ठकुरी कहाँ गएर टिप्पणी च्यातेको भनेपछि तथानाम गाली गर्दै मुक्का र लातले हिर्काएको पिडित खनालले बताए । मुखमा मुक्का र ढाडमा लातले हानेपछि त्यहाँ बाट भागेर खनाल कार्यालय प्रमुख कहाँ पुगेको बताईन्छ । यसरी आफ्नै शाखाको प्रमुखले आफ्नो जिम्मेवारी पुरा गर्दा कुटपिट हुनथालेपछि काम गर्ने बातावरण नै नभएको कर्मचारीहरुले बताएका छन् ।

कर्मचारी कुटपिटका बिषयमा कोहलपुर नगरपालिकाका प्रबक्ता माधब रिजालले अनविज्ञता जाहेर गरेका छन् । उनले यो बिषयमा जानकारी नभएको बताए । यस बिषयमा स्वास्थ्य शाखाका कर्मचारीहरुसँग सम्पर्क गर्दा यो घट्नाले काम गर्ने वातावरण नभएको प्रतिक्रिया दिएका छन् भने नगपालिकाका माथिल्लो तहका कर्मचारीहरु घट्नाका बारेमा बोल्न चाहेनन् । कोहलपुर नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीलाई भाद्र ११ गते देखि शाखा प्रमुखको जिम्मेवारी दिएको थियो ।

Womui
Womui