‘मिलेमतो’मा जुम्लाको तिला नदीमा अवैध उत्खनन

80

जुम्ला– जिल्लास्थित तिला नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा बिक्री वितरण भइरहेको छ । चन्दननाथ नगरपालिका वडा नम्बर ६ स्थित नवनिर्मत बसपार्क परिसरबाट उक्त नदीजन्य पदार्थ उत्खनन तथा बिक्री वितरण भइरहेको हो ।

नेपाल सरकारलाई करोडौं रुपैयाँको नोक्सानी हुने क्रियाकलाप हुँदासमेत जुम्लाका सम्बन्धित निकाय भने मौन रहेका छन् । नदीजन्य पदार्थ अन्तर्गत ढुंगा, गिट्टी, बालुवा, उत्खनन तथा बिक्री वितरण भइरहेको अवस्थामा समेत स्थानीय जनप्रतिनिधि मुकदर्शक बन्दा जनप्रतिनिधि र उत्खननकर्ताको मिलेमतोमा अवैध उत्खनन भएको स्थानीय बताउँछन् ।

चन्दननाथ वडा नम्बर ६ छिना बसपार्कमा नवनिर्मित पुललाई समेत क्षति पुग्ने गरी बालुवाजन्य पदार्थ उत्खनन भइरहेको हो । बालुवा संकलनका लागि मेसिनको समेत प्रयोग गरेको पाइएको छ । नदीमा मेसिन प्रयोग गरिँदा नदीले धारसमेत परिवर्तन गरेको छ भने नदीको आकार पनि ठूलो हुँदै गएको छ ।

घना वस्ती र वन क्षेत्रको दुई किलोमिटर, राजमार्गको पाँच सय मिटर दूरीभित्रको नदी, सडक पुल तथा झोलुङ्गे पुलको एक किलोमिटर तल र पाँचसय मिटर माथिको नदीजन्य पदार्थ उत्खनन र संकलन गर्न नपाइने ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ को दफा ४(१०) मा उल्लेख छ ।
तर बालुवा संकलनकर्ताले नदी किनारामा आफ्नै जमिन परेकाले उत्खनन एवम् संकलन गरिरहेका बताएका छन् । यसरी ऐन नियमनै मिचेर नदीजन्य पदार्थ उत्खनन भइरहँदासमेत सरोकारवाला निकाय किन मौन ? स्थानीय प्रश्न गर्छन् ।

त्यस्तै नदीजन्य पदार्थको उत्खनन तथा संकलन गर्ने गरी स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनले तोकेका स्थान तथा क्षेत्रहरु निर्धारण गरेको ठाउँबाट मात्र नदीजन्य पदार्थ उत्खनन गर्न पाइन्छ । तर तिला नदीबाट आफूखुसी नदीजन्य पदार्थ उत्खनन तथा बिक्री वितरण भइरहेको छ ।

चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज पौडेलले वातावरणीय अध्ययन प्रतिवेदन (आइई) गर्न नसक्दा नदीजन्य पदार्थ उत्खनन तथा बिक्री वितरणका लागि नगरपालिकाले ठेक्का खोल्न नसकेको बताए । दिनदहाडै आफूखुसी नदीजन्य पदार्थ उत्खनन एवम् बिक्री वितरण भइरहेको थाहा पाए पनि मुकदर्शक बन्नु परेको अधिकृत पौडेलले बताए ।

Womui
Womui