राप्तीसोनारी गाउँपालिकाः ८२ करोड ३८ लाखको बजेट

119

नेपालगन्ज– बाँकेको राप्ती सोनारी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । बिहीबार आयोजित नवौं गाउँसभा तथा बजेट अधिवेशनमा गाउँपालिका अध्यक्ष लाहुराम थारुले नीति तथा कार्यक्रम र उपाध्यक्ष धनीकुमारी खत्रीले बजेट प्रस्तुत गरेका हुन् ।

गाउँपालिकाले ८२ करोड ३८ लाख ३२ हजार ३ सय ५१ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा गाउँपालिकाको आन्तरिक स्रोतबाट उक्त बजेट प्रस्तुत गरिएको हो । संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, शर्सत अनुदान, विशेष अनुदान, राजश्व बाँडफाँड तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड, शसर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदानमार्फत गाउँपालिकाले ९ वटा वडामा बजेट विनियोजन गरेको छ । वडा नम्बर १ र २ मा २/२ करोड, वडा नम्बर ३, ४, ६, ८ र ९ मा १ करोड ७५ लाख, वडा नम्बर ५ र ७ मा १ करोड ८० लाखका दरले बजेट विनियोजन गरिएको हो ।

गाउँपालिकाले सामाजिक विकास शाखा, शिक्षा, स्वास्थ्यलगायतमा ७ करोड ११ लाख ६६ हजार ९ सय रुपैयाँ, आर्थिक विकास, कृषि पशुलगायतमा ८० लाख, पूर्वाधार विकासमा ९ करोड ३२ लाख ३७ हजार ४ सय ५१, वातावरण तथा विपद ब्यवस्थापनमा १ करोड, संस्थागत विकास सेवा प्रवाहमा १५ लाख बजेट विनियोजन गरेको छ । गुणस्तरीय शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्न शिक्षाका समग्र कार्यक्रमहरु सञ्चालन गर्न कुल २८ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रममा गाउँपालिका क्षेत्रभित्र पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषिलाई उच्च प्राथमिकता दिएर समावेश गरिएको छ ।

गाउँपालिका अध्यक्ष थारुले प्रस्तुत नीति तथा कार्यक्रमले समृद्ध राप्ती सोनारी नारालाई ब्यवहारमा उतार्न विकासका प्राथमिकता र बजेट तर्जुमाको आधारलाई प्रस्तुत गरेको बताए । नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्राप्त हुने रचनात्मक सुझावलाई मार्गदर्शनको रुपमा लिई सबैको संयुक्त प्रयास, समन्वय, सहकार्य र अपनत्वबोधबाट राप्ती सोनारीको विकासमा कोशेढुंगा सावित हुने विश्वास लिएको अध्यक्ष थारुले बताए ।

यस्तै गाउँ सभामा प्रस्तुत भएको बजेटका विषयमा ब्यापक छलफल र परिमार्जन गर्न सभाका सदस्यलाई एक हप्ताको समय दिइएको छ । गाउँ सभा असार १७ गते दिउँसो १२ बजे पुनः बस्ने तय भएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिए । त्यतिबेला बस्ने गाउँसभाले प्रस्तुत बजेट पारित गर्ने छ ।

Womui
Womui