व्यवसायिक खेतीका लागि २ करोडको कृषि सामग्री वितरण

338

नेपालगन्ज– बाँकेको राप्तीसोनारी गाउँपालिकामा रहेका किसानलाई दुई करोड रुपैयाँ भन्दा बढीको कृषि सामाग्री प्रदान गरिएको छ । खाद्यान्न तथा तरकारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानहरुलाई दुई करोड ११ हजार सात सय ५० रुपैयाँ मूल्यको विभिन्न कृषि सामग्री प्रदान गरिएको हो । मंगलबार वितरण गरिएको उक्त सामग्री ५० प्रतिशत अनुदानमा राप्तीसोनारी गाउँपालिका–६ मा रहेको साकार कृषि सहकारी संस्था लिमिटेडका मुख्य व्यवस्थापक जमानसिंह ओलीले जानकारी दिए । गाउँपालिकाद्वारा प्राप्त ५० प्रतिशत अनुदानमा संचालित कार्यक्रमको समन्वय साकार कृषि सहकारी संस्थाले गरिरहेको छ ।

खाद्यान्न तथा तरकारी प्रवर्द्धन कार्यक्रम अन्तर्गत सहयोग गरिएको सामाग्रीमा आठ लाख ८० हजार रुपैयाँको २२ थान पम्पसेट, १५ लाख १२ हजार रुपैयाँको ३६ थान बोरिङ, एक लाख ५० हजार रुपैयाँको पाँच सय केजी डेलिभेरी पाइप, आठ लाख २५ हजार रुपैयाँको ३३ थान मोटर र १९ लाख ८० हजार रुपैयाँको ६ वटा थ्रेसर रहेको छ । त्यसैगरी दुई लाख २५ हजार रुपैयाँको ३० लिटर झारनासक विषादी, चार लाख ७५ हजार रुपैयाँको १० हजार केजी डिएपी, दुई लाख ७७ हजार पाँच सय रुपैयाँको एक हजार पाँच सय केजी युरिया, एक लाख ८७ हजार पाँच सय रुपैयाँको पाँच हजार केजी पोटास, ६ लाख ३८ हजार रुपैयाँको पाँच हजार आठ सय केजी जिक्ङलगायत विभिन्न खाद्यान्न तथा घाँसका एक सय चार क्वीन्टलभन्दा बढी उन्नत, प्रमाणित र मूल बीउविजन पनि प्रदान गरिएको साकार कृषि सहकारी संस्थाका लेखापाल भरत केसीले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले गाउँपालिकाले किसानलाई सहज बनाउने योजना रहेको बताए । उनले कृषि पेसा सबैभन्दा उच्च पेसा भएको बताउँदै, कृषि पेसालाई अपमान नगर्न आग्रह गरे । अध्यक्ष थारुले कृषकलाई अनुदानमा प्राप्त सामग्रीलाई अनुदान नसम्झेर आफ्नो सम्पत्ति सम्झदै कृषि उत्पादनमा वृद्धि गराउन अनुरोध गरे ।

कार्यक्रममा उपाध्यक्ष धनीकुमारी खत्रीले किसानको हितमा सदैव गाउँपालिका लागि परेको बताइन् । उनले किसानहरुले उत्पादनमा वृद्धि गर्दै जाने हो भने किसानका हरेक समस्यालाई गाउँपालिकाले साथ दिने बताइन् ।

विशेष गरेर चक्लाबन्दी रुपमा व्यवसायिक तरकारी खेती गर्नेलाई उक्त सामग्री उपलब्ध गराएको संस्थाका मुख्य व्यवस्थापक ओलीको भनाइ रहेको छ । कार्यक्रममा ओलीले अनुदानमा प्राप्त सामग्रीको सही सदुपयोग गर्नु पर्नेमा जोड दिए । गाउँपालिकाले समन्वय गर्ने अवसर दिएकोमा धन्यवाद दिँदै ओलीले आगामी दिनमा पालिकासँग सहकार्य गर्ने अवसर पाउनेमा आशावादी रहेको बताए ।

कार्यक्रम अन्तर्गतको अन्तिम सार्वजनिक सुनुवाइ तथा सामग्री वितरण कार्यक्रमको आयोजना गरेर किसानहरुलाई कृषि सामाग्री प्रदान गरिएको कार्यक्रमको संचालन संस्थाका लेखापाल भरत केसीले गरेका थिए भने कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनिकुमारी खत्री, वडा नम्बर ८ का अध्यक्ष खुमबहादुर बस्नेतलगायतले किसनहरुलाई कृषि सामाग्री हस्तान्तरण गरेका थिए ।

Womui
Womui