वडास्तरीय योजना छनोटका लागि राप्तीसोनारीले पठायो सिलिङ

222

नेपालगन्ज– वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, विकास निर्माण लगायतका विषयलाई प्राथमिकतामा राख्दै बाँकेको राप्तीसोनारी गाउँपालिकाले वडालाई योजना छनोटका लागि सिलिङ पठाएको छ । संघ र प्रदेश सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याइसकेपछि राप्तीसोनारी गाउँपालिकाले नयाँ बजेटको तयारीका लागि वडालाई सिलिङ पठाएको हो ।

गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०७८।०७९ को नीति तथा कार्यक्रम र बजेटको तयारी तीव्र रूपमा गरिरहेको छ । यही असार १० गते बस्ने गाउँसभाले नीति तथा कार्यक्रम र बजेट ल्याउने छ । कोभिड–१९ को संक्रमणको व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पशु, विपत, विकास निर्माण र वातावरणीय संरक्षणलाई प्राथमिक्तामा राखेर यस वर्ष केही ठूला र महत्वपूर्ण योजना ल्याउने तयारी भएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताएका छन् ।

स्थानीय तहमा योजना छनौट चरण अन्तर्गत अहिले वडास्तरीय योजनाहरु छनौटका लागि सिलिङ पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिए । यसरी वडालाई पठाइएको सिलिङका आधारमा योजनाहरु आइसकेपछि विषयगत समितिको बैठकबाट पास हुने प्रमुख शाहीले बताए । उनका अनुसार विषयगत समितिबाट पास भएका योजना तथा कार्यक्रम बजेट तर्जुमा समितिले पास गरी कार्यपालिकाको बैठकमा पेश गर्नेछ । र कार्यपालिकाको बैठकपछि गाउँसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

Womui
Womui