देउतीबज्यै मन्दिर

247

भेरीगंगा वडा नम्बर १ स्थित मनिरामडाँडामा देउतीबज्यै मन्दिर अवस्थित छ । वडाको पश्चिम र दक्षिण बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको चुरे पहाडको टुप्पोमा मन्दिर रहेको छ । यो मन्दिर वडाको सबैभन्दा ठूलो धार्मिक स्थल हो । यो मन्दिरको पश्चिममा सुर्खेतको बराहताल गाउँपालिका सीमा क्षेत्र सुरु हुन्छ भने दक्षिणमा बर्दिया राष्ट्रिय निकुञ्जले घेरिएको छ । यहाँ बसोबास गर्ने गुरुङ र घले समुदायले १५० वर्ष पहिला देउतीबज्यै मन्दिर निर्माण गरी पूजा गर्न थालेका हुन् । वि.स. २०७० सालदेखि भने स्थानीयले बराहताल गाउँपालिकाको रानीगाउँबाट राजी पुजारी ल्याएर बर्सेनि पूजाआजा गर्दै र गराउँदै आएका छन् । मनिरामडाँडामा रहेको देउतीबज्यैको मन्दिर एक प्रमुख पर्यटकीय गन्तव्य हो ।

डाँडाको अग्लो फेदमा मन्दिर रहेकोले यहाँबाट तराईका बाँके बर्दिया, कैलालीदेखि भारतीय भूभाग र सुर्खेत जिल्लाको उपत्यका देख्न सकिन्छ । मन्दिर एक तलाको जस्तापाताले छाएको छ । भेरी नदीको पानीमा जाल हान्दा चार बहिनीलाई राजी जातका मानिसहरूले भेटाई नदीको किनारमा देवीको मन्दिर बनाई देवीको रूपमा पूजा गर्ने गरेको डोल्पाका मानिसहरूले थाहा पाएपछि गंगामालालाई फिर्ता लिन सुर्खेतमा आउँदा गंगामाला रिसाई अलप भइन् र पछि उनीहरू डोल्पा फर्किएपछि फेरि उत्पत्ति भइन् भन्ने इतिहास रहेको छ । यहाँको देउतीबज्यैमा अक्षता र ध्वजा उठाई भाकल गरे सोचेका कुरा पूरा हुने जनआस्था र विश्वास रहँदै आएको छ । घण्ट, ध्वजा, त्रिशूल, अक्षता फलफूल धुप चढाई देउतीबज्यैको पूजा आराधना गरिन्छ । प्रत्येक वर्ष जेठ पूर्णिमामा र मंसिर पूर्णिमामा देउती बज्यैको ठूलो पूजापाठ हुन्छ भने नव वर्ष, विजया दशमीका दिन पूजा गरिन्छ । फलफूल, खीर, दूध, पुरी, नरीवल, ध्वजा, अक्षता देउती बज्यैलाई चढाइन्छ ।

पर्यटन चिनारी पुस्तकबाट

Womui
Womui