राप्तीसोनारीमा विकास योजना अनुगमनलाई तीव्रता

114

नेपालगन्ज– देश अहिले कोरोना भाइरसको महामारीमा गुज्रिरहेको छ । अधिकांश मान्छेहरु घरभित्रै बसेका छन् । त्यस्तै गाउँपालिकाबाट हुने सेवा प्रवाहमा पनि कमी आएकाले बाँकेको राप्तीसोनारी गाउँपालिकाले यतिबेला विकासे योजनाको अनुगमनलाई तीव्रता दिएको छ । कोरोना महामारीको भयावह अवस्थामा पनि नियमित रूपमा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीको संयोजकत्वमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही, लेखा अधिकृत गौरव लामिछाने, प्राविधिक शाखा प्रमुख एथेष्ठ पुन मगर, इन्जिनियर रामबहादुर बुढा र दुर्गा केसीलगायतको संयुक्त टोली अनुगमनमा निस्कने गरेको हो ।

अनुगमनलाई नियमितता दिँदै मंगलबार वडा नम्बर ७ र वडा नम्बर ६ मा भएका विकास निर्माणका कामलाई टोलीले संयुक्त रुपमा अनुगमन गरेको हो । अनुगमनका क्रममा उनीहरुले कोरोना कहरबाट जनतालाई कसरी बचाउने विषयमा पनि सोही विकास योजना अनुगमनका क्रममा अवस्था बुझ्ने गरेको गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीको भनाइ रहेको छ । वडा नम्बर ७ र ६ का बाटोघाटो, कल्भर्ट, भवन र पर्खालको अनुगमन गरेको उपाध्यक्ष खत्रीले बताइन् । उपाध्यक्ष खत्रीका अनुसार अनुगमनका क्रममा राम्रोसँग काम नगर्नेहरुलाई पुनः काम गरेर मात्र भुक्तानी लिन आग्रह गरेको बताइन् । उनले अनुगमनलाई नियमितता दिँदै अन्य वडाहरुको अनुगमन गर्नुका साथै कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै त्यसबाट बच्ने उपायबारे गाउँपालिकावासीलाई जनचेतना फैलाउँदै हिँड्ने बताइन् ।

अनुगमनका क्रममा उपभोक्ताले राम्रो काम गरेको पाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिए । उपभोक्ताले राम्रो काम गरेको पाइए पनि ठेकेदार कम्पनीले काम गर्दा कमसल खालको काम गरेको पाइएको उनले बताए । एकाध ठाउँमा उपभोक्ताले काम गर्ने भनेर सम्झौता गरे पनि उपभोक्ताले ठेकेदारलाई कामको जिम्मा दिएका ठाउँमा त्यस्तो समस्या आएको हो । उपभोक्ताले आफैले काम गर्नु पर्छ भन्ने कुराको हेक्का नराख्दा पनि त्यस्तो समस्या आएको बताइएको छ । प्रमुख शाहीले उपभोक्ताले जिम्मा लिएको काम सम्पन्न उपभोक्ताले नै गर्नु पर्ने अन्यथा गाउँपालिकाबाट रकम निकासा नहुने भनेर त्यसो नगर्न सुझाव दिएको बताए । अहिलेसम्म जे जस्तो भए पनि अब उप्रान्त त्यसो नगर्न सुझाव दिएको बताउँदै प्रमुख शाहीले उपभोक्ताले सम्पन्न गरेको विकास निर्माणका कामको गुणस्तरीयता अति राम्रो रहेको बताए ।

Womui
Womui