योजना तर्जुमा प्रक्रियामा लक्षित वर्गको सहभागितामा जोड

114

नेपालगन्ज–स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा समुदायका लक्षित वर्गका सवाल समेटनु पर्ने एक कार्यक्रममा जोड दिइएको छ । लक्षित वर्ग अन्र्तगत महिला, बालबालिका, युवा, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायको अर्थपूर्ण सहभागितामा योजना निमार्ण गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले बाँके डुडुवा गाउँपालिकाका जनप्रतिनिधि र नागरिकबीच मंगलबार गरेको भर्चुअल छलफलका सहभागीहरुले समुदायमा रहेका समस्यालाई पहिचान गरी त्यसका आधारमा योजना बनाउन सुझाव दिएका थिए । उनीहरुले समुदायको विकासका लागि भौतिक पूर्वाधार मात्र नभई लक्षित वर्गका सवाललाई पनि प्राथमिकतामा राख्नुपर्ने सुझाव दिँदै योजना तर्जुमा प्रक्रियामा आफूहरुलाई पनि सहभागी गराउनुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा गाउँपालिकाका योजना शाखा प्रमुख ओमबहादुर राना क्षेत्रीले योजना तर्जुमा प्रक्रियाका चरणहरु, योजना छनौटको प्राथमिकता र कार्यान्वयन, कोभिड महामारीका बेला संचालित योजनाको अवस्थाका बारेमा प्रस्तुतीकरण गर्दै सहजीकरण गरेका थिए । संस्थाका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा उद्देश्यका बारेमा कार्यकारी निर्देशक राकेशकुमार मिश्रले गरेका थिए भने सहजीकरण कार्यक्रम संयोजक टेकनाथ आचार्यले गरेका थिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्य लिलावती यादव, कर्मचारीहरु, संस्थाद्वारा गठित स्थानीय सभाका पदाधिकारी, र अन्य नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Womui
Womui