कोभिडविरुद्ध सक्रिय राप्तीसोनारीः अध्यक्ष थारु

79

नेपालगन्ज–विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण सक्रिय रुपमा बढिरहेको छ । दिनहुँ संक्रमितको मृत्यु भइरहेको छ भने त्यसरी नै संक्रमितको संख्या पनि बढिरहेको छ । गत वर्ष महामारीले ठूलै रुप लियो । राप्तीसोनारी गाउँपालिकासँग सीमा जोडिएको नरैनापुर गाउँपालिका कोरोनाको हटस्पट नै बन्यो । त्यस क्रममा भारतलगायत विदेशबाट गाउँपालिका भित्रिएका नागरिकलाई क्वारेन्टाइनमा राखियो । लकडाउनको मारमा दिनहुँ ज्याला मजदुरी गरेर खाने वर्ग परे । उनीहरुका लागि राप्ती सोनारी गाउँपालिकाले ५ पटकसम्म राहत वितरण गरेको सुनाउँछन् गाउँपालिका अध्यक्ष लाहुराम थारु । त्यतिबेला गाउँपालिकाको विकासे बजेटको ठूलो हिस्सा कोरोना नियन्त्रणमै खर्च भयो । विभिन्न संघसंस्थाको सहयोगले कोरोना नियन्त्रणमा ठूलो राहत मिलेको बताउँछन् अध्यक्ष थारु ।  

दोस्रो चरणको महामारीले त झन् गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, एकजना वडाअध्यक्ष, लेखा अधिकृत, स्वास्थ्य शाखा प्रमुख, लेखापाल, जिन्सी शाखा प्रमुख, कार्यपालिका सदस्यलगायत १६ जना कर्मचारी कोरोना संक्रमणबाट अछुतो रहेनन् । जसले गर्दा गाउँपालिकाको सेवा प्रवाह नै थप्प हुन पुग्यो ।

जनताले आड भरोसा गरेको नजिकको स्थानीय सरकार चलाउने प्रमुख, कर्मचारीदेखि जनप्रतिनिधिनै कोरोना संक्रमित भएपछि गाउँपालिकावासीले पाउँदै आएको सेवाप्रवाहमा कटौती हुनु स्वभाविकै हो । यद्यपि समय र परिस्थितिले निम्त्याएको असहज वातावरणका बीच पनि गाउँपालिकावासीको आशा र भरोसालाई मर्न नदिनका लागि गाउँपालिका कोभिडविरुद्ध सक्रिय भएर लागेको बताउँछन् अध्यक्ष लाहुराम थारु । ‘जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृतलगायत उच्च पदस्थ धेरै कर्मचारी कोरोना संक्रमित भए पनि अन्य कर्मचारीको सहयोगमा कोभिडविरुद्ध लड्न गाउँपालिका सक्रिय रुपमा अघि बढिरहेको छ,’ अध्यक्ष थारुले भने,‘हामी होम आइसोलेसनमै बसेको अवस्थामा गाउँपालिकाका विभिन्न स्थानमा अक्सिजनसहितको ४५ शैय्‍याको आइसोलेसन तयार गरेका छौं ।’

अध्यक्ष थारुका अनुसार गाउँपालिकाले वडा नम्बर ३ साइपुरको सेल्टर भवनमा १५, वडा नम्बर ६ स्थित सहिद स्मारक भवनमा १०, वडा नम्बर २ कचनापुरको लक्ष्मी सामुदायिक बहुमुखी क्याम्पसको छात्रावासमा १५ र राप्तीसोनारी अस्पतालमा ५ शैय्‍याको अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राखेको छ । त्यस्तै प्रत्येक वडामा कोरोना फोकल पर्सन छुट्याएको छ भने विभिन्न सञ्चार माध्यमद्वारा जनचेतनामूलक सन्देश प्रवाह र प्रत्येक वडामा कोभिडविरुद्ध माइकिङ गरिरहेको छ ।

आफू होम आइसोलेसनबाट निस्किएलगत्तै कोरोना नियन्त्रणका लागि  सर्वदलीय बैठक बसाल्ने अध्यक्ष थारुले बताए । उनका अनुसार कर्मचारी, जनप्रतिनिधिलगायत स्थानीयको स्वाब संकलनका लागि पीसीआर किट खरिद गरेर स्वाब संकलन गरिँदैछ ।

त्यस्तै कोरोना भाइरसविरुद्ध ठाउँठाउँमा होर्डिङ् बोर्ड लगाउने, आवश्कयता अनुसार सीमानाकामा हेल्प डेस्क स्थापना गर्नेलगायतका योजना रहेको अध्यक्ष थारुले सुनाए । गत वर्षझै कोरोना महामारीले विकराल रुप लिँदै गए दैनिक ज्याला मजदुरी गरेर खाने वर्गका लागि राहत वितरण गर्ने योजनासमेत रहेको अध्यक्ष थारुले बताए ।

Womui
Womui