जनचेतना जगाउँदै गाउँपालिका दौडाहामा उपाध्यक्ष खत्री

257

नेपालगन्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री कोरोना महामारीको समयमा पनि जनताको सेवामा खटिइरहेकी छिन् । कोरोना महामारीको बेला गाउँपालिकावासीको अवस्था बुझ्न एवम् कोरोना भाइरसबाट बच्ने उपायबारे जनचेतना जगाउँदै उपाध्यक्ष खत्री गाउँपालिका दौडाहामा व्यस्त भएकी हुन् ।

कोरोना महामारीले निम्त्याएको संकटका बेला जनताको आवश्यकता बुझ्न एवम् जनचेतनामूलक सन्देश प्रवाह गर्दै वडा नम्बर १ देखि वडा नम्बर ९ सम्मका वडावासीको घरदैलो एवम् त्यहाँ रहेका स्वास्थ्य चौकीको अवस्था बुझ्दै हिँडेको उपाध्यक्ष खत्रीको भनाइ रहेको छ ।

कोरोना महामारीले देश आक्रान्त बनेको छ । दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दो छ भने मृत्यु हुनेको संख्या पनि बढी रहेको छ । यस्तो अवस्थामा तपाइँ किन गाउँपालिका दौडाहा हिँड्नु भएको भन्ने प्रश्नमा उपाध्यक्ष खत्री भन्छिन्,‘ स्थानीय सरकार नै जनताको नजिकको सरकार हो । अन्य बेला जसुकै भए पनि महामारी एवम् संकटको बेलामा जनताले नजिकको सरकारको साथ एवम् सहयोगको अपेक्षा गरेका हुन्छन् त्यसैले जनताको आवश्यकता एवम् यस महामारीको बेला अपनाउनु पर्ने सुरक्षा सतर्कताबारे जनचेतना जगाउन गाउँपालिकाको ९ वटै वडामा रहेका स्वास्थ्य संस्था र जनता कहाँ पुगेकी हुँ ।’

उपाध्यक्ष खत्रीले वडामा रहेका स्वास्थ्य केन्द्रमा आवश्यक स्वास्थ्य सामग्री पनि सँगै लगेर पुर्‍याइरहेकी छिन् । उनले स्प्रे ट्याङ्की, माक्स र स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री अभाव भएका स्वास्थ्य केन्द्रमा छोडेको उपाध्यक्षका स्वकीय सचिव भीमबहादुर खड्काले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै आफ्ना स्वकीय सचिव भीमबहादुर खड्का र ड्राइभर दिनेश चौधरीका साथमा भौतिक दूरी कायम गर्दै उपाध्यक्ष खत्री गाउँपालिका दौडाहामा निस्किएकी हुन् ।

Womui
Womui