१६ शैयाको सुविधा सम्पन्न आइसोलेशन वार्ड निर्माण

188

डुडुवा (बाँके)–बाँके डुडुवा गाउँपालिकाले वडा नम्बर–१ सन्तलिया गाउँस्थित बहुउद्देस्सीय भवनलाई १६ सैययाको अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारेको छ । कोभिडको संक्रमणबाट गम्भीर बिरामीहरुको उपचार सुरु गर्ने गरी आइसोलेसन केन्द्र तयार पारिएको हो ।

आइसोलेशन वार्डमा अक्सिजन, अक्सिजन सक्सन कन्सन्टे«ड, अक्सिजन ऐलीडन्ट सक्सन मेसिन, अक्सीमिटर, स्वास्थ्य सरसफाईका सामाग्रीसहितको सुविधा सम्पन्न वार्ड तयार गरिएको स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताए । उनका अनुसार गाउँपालिकाभित्र कोभिड संक्रमणका बिरामीलाई राखेर उपचार गरिनेछ भने उपचारका क्रममा बिरामीलाई साह्रै अप्ठयारो भएमा एम्बुलेन्समार्फत् भेरी अस्पताल रिफर गरिनेछ ।

कोरोना संक्रमितहरु अहिले होम आइसोलेसनमा रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारीका लागि स्वास्थ्यकर्मीद्वारा फोन र अनुगमन गर्ने कार्य भइरहेको छ । गाउँपालिकाले पिसिआर जाँचका लागि वार्ड नंं २ स्थित बेतहनी स्वास्थ्य चौकीमा स्वाब संकलन गरिरहेको छ ।

कोरोना संक्रमित बिरामीहरुको उपचार सेवाका लागि स्वास्थ्यकर्मी, औषधी, आइसोलेसन वार्ड, स्वाब संकलन, हेल्थ डेक्स, एम्बुलेन्स लगायतका सेवा दिइरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । कोरोनाको दोस्रो लहरबाट बच्न सबैले विशेष सावधानी अपनाई स्वास्थ्य सुरक्षाका सामाग्री अपनाएर घरभित्रै बस्न अध्यक्ष चौधरीले आग्रह गरेका छन् । गाउँपालिकाले सिमानाका अन्तर्गत तीन स्थानमा हेल्थ डेक्सको स्थापना गरी आवतजावत गर्ने नागरिकहरुको स्वास्थ्य परीक्षण गरिरहेको छ ।

Womui
Womui