घाटगद्दी गरिएका चट्टामा आगलागी

68

शमशेरगन्ज– बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ८ शमशेरगन्जस्थित घाटगद्दीस्थानमा बुधबार आगलागी हुँदा घाटगद्दी गरेर राखिएका केही चट्टा दाउरा जलेर नष्ट भएको छ । आगलागीबाट तीन चट्टा दाउरा पूर्ण रुपमा जलेर नष्ट भएको छ भने तीन चट्टा दाउरामा सामान्य क्षति भएको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत राजु क्षेत्रीले जानकारी दिए । बाँके राष्ट्रिय निकुन्ज कार्यालयको सामुन्नेमा रहेको उक्त घाटगद्दीस्थानमा बुधबार बिहान ११ बजेतिर आगलागी भएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाको दमकल, कोहलपुर नगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र वन रक्षक, वन कर्मचारी, वन हेरालु तथा स्थानीयको सहयोगमा उक्त आगो दिउँसो ४ बजेतिर नियन्त्रणमा आएको थियो । उक्त घाटगद्दीस्थानमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्तर्गत राष्ट्रिय वनमा कटान गरिएका करोडौं मूल्य बराबरका काठ दाउराहरु घाटगद्दी गरेर राखिएको छ ।

वरिपरि रहेको जङ्गल क्षेत्रमा भने आगो लागेको छैन । जहाँ घाटगद्दी गरेर राखिएको छ सोही स्थानको दाउराको चट्टामा मात्र आगलागी हुनु शंकास्पद देखिएको छ । आगलागी के कसरी भयो भन्ने बारेमा अनुसन्धान शुरु गरिएको र थप कुराहरु अनुसन्धानपछि खुल्ने वन अधिकृत क्षेत्रीले जानकारी दिए ।

Womui
Womui