प्रधानमन्त्रीले देशसँग विश्वासघात गरेः गगन थापा

59
नेपालगन्जमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता गगन थापा ।

नेपालगन्ज–प्रधानमन्त्री केपी शर्मा ओ‌लीले नेपाली जनतालाई र देशसँग विश्वासघात गरेको नेपाली कांग्रेसका नेता गगन थापाले आरोप लगाएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेले नेपालगन्जमा सोमबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले भने,‘नेपालमा पटक पटक अविश्वास दर्ता गर्ने काम भएपछि दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नसक्ने व्यवस्था कायम गरियो, संसद विघटनको विकृति रोक्नका लागि प्रधामन्त्रीले विघटन गर्न नपाउने व्यवस्थाविरुद्ध प्रतिनिधि सभा विघटन गरेर समग्र देशलाई अन्धकारतर्फ धकेलेर विश्वासघात गरे ।’ प्रधानमन्त्रीको यो कदमले देशलाई अराजकतातर्फ लैजान थालेकोसमेत बताए । नेता थापाले जनमतको सुविधा, संसदभित्रको गणितको सुविधा र देश तथा विदेश सबैतिरको अनुकूल वातावरण पाउँदा पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेकपाबाट निर्वाचित प्रधानमन्त्री ओलीले संविधान र व्यवस्थाप्रति विश्वासघात गरेको आरोप लगाएका हुन् ।

संसदभित्र टाउको गनेर प्रधानमन्त्रीमा निर्वाचित भएका ओली अहिले टाउकोको संख्या कम भएपछि मैदान छाडेर भागेको आरोप लगाउँदै थापाले देशको सबैभन्दा सर्वाेच्च पदमा बसेका राष्ट्रपति र प्रधानमन्त्रीले सिंगो संसदलाई विघटन गरेर संविधानलाई नै दुर्घटनातर्फ लिएर जान थालेको बताए ।
प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीभित्रको झगडा मिलाउन नसकेर त्यसको भारी नेपाली जनतालाई बोकाउने काम गरेको नेता थापाको भनाइ थियो । ‘यो घटनाको दोषी नेपालको प्रधानमन्त्री , यो अपराधको मतियार नेपालको राष्ट्रपति हुन्, पार्टीभित्रको कलह मिलाउन नसक्ने, पार्टीभित्रको हिसाब किताब मिलाउन नसक्ने अनि त्यसको भारी तपाई हामीले बोक्नु पर्ने ?’ उनले भने ।
कांग्रेस क्षेत्र नम्बर २ बाँकेका सभापति रमेश गुप्ताको अध्यक्षतामा भएको विरोध सभामा कांग्रेस बाँकेका सभापति किरण कोइराला, लुम्बिनी प्रदेशका सांसद मोहम्मद याकुव अन्सारी र नेपाली कांग्रेस नेपालगन्ज उपमहानगर सभापति प्रशान्त विष्टले कम्युनिष्टले नेपाली जनतालाई धोका दिएको बताएका थिए ।

Womui
Womui