पालिका स्तरीय बाल सञ्जालमा लोकमाया

63


अगैया– राप्ती सोनारी गाउँपालिका स्तरीय बाल सञ्जालमा लोकमाया परियार निर्वाचित भएकी छिन् । २१ सदस्सीय गठित सञ्जालमा ३९ मत ल्याउँदै लोकमाया अध्यक्षमा निर्वाचित भएकी हुन् । सोमबार राप्तीसोनारी गाउँपालिकामा भएको मतदानमा ७४ मतमा ७१ मत खसेको थियो । जसमा २२ मत ल्याउँदै सरिता पुन मगर प्रथम उपाध्यक्ष, १८ मत ल्याउँदै अक्षेन्द्र ओली द्वितीय उपाध्यक्ष, २५ मत ल्याउँदै बेलमोती महा सचिव, १८ मत ल्याउँदै विपिन खड्का सचिव, १६ मत ल्याउँदै सरस्वती थारु सहसचिव र १७ मत ल्याउँदै समीक्षा ओली कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

निर्वाचित भइसकेपछि अध्यक्ष लोकमायाले बालबालिकाको हितलाई ध्यानमा राखेर सबै बालबालिकालाई समेट्ने बताइन् । कार्यक्रममा बोल्दै अध्यक्ष लोकमायाले लहैलहैमा बालविवाह नगर्न, बालबालिकालाई बालश्रममा प्रयोग नगर्न र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुन र लागू औषधको दलदलमा बालबालिकालाई नफस्न आह्वान गरिन् ।

कैलाश सत्यार्थी चिल्डूेन फाउन्डेसन अमेरिकाको सहयोगमा नोभेम्बर २०१८ देखि बालमित्र गाउँ अभियान नेपाल परियोजना अन्तर्गत बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बेसले राप्ती सोनारी गाउँपालिका महिला तथा बालबालिका शाखासँग समन्वय र संयुक्त आयोजनामा सञ्जाल गठन गरिएको महिला तथा बालबालिका शाखा प्रमुख सम्झना दर्लामीले बताइन् । दर्लामीका अनुसार बालश्रम, बालविवाह, मानव बेचबिखनविरुद्ध सञ्जाललाई महिला तथा बालबालिका शाखाले आवश्यक सहयोग गरिरहेको छ ।

गाउँपालिकास्थित ९ वडा वडा कार्यालयको साझेदारी एवम् महिला तथा बालबालिका शाखासँग समन्वयमा गाउँपालिकाभर ८० वटा बालक्लब, ८० बालमित्र गाउँ समिति र ९ वडा वडास्तरीय बाल क्लब सञ्जाल गठन गरिएको बेसका कार्यक्रम निर्देशक पिंकी डाँगीले बताइन् । उक्त सञ्जालमा १५ सदस्सीय कार्यसमिति चयन गरिएको छ । गाउँपालिकामा गठित बाल सञ्जालका सदस्यले आफ्नो ठाउँमा भइरहने बालश्रम, बालविवाह, मानव बेचबिखन सम्बन्धीका घटना न्यूनीकरणका लागि अहम भूमिका निर्वाह गरेका बताउँदै निर्देशक डाँगीले भनिन्,‘ गाउँ ठाउँमा हुने बालअधिकार सम्बन्धीका समस्या आइपरे बालक्लबले नै समन्वयन गरी त्यसको न्यूनीकरण गर्ने गरेको छ । उनीहरुबाट समस्या समाधान नभए हामीलाई सम्पर्क गर्छन् र समस्या समाधानका लागि हाम्रो टिम गाउँ ठाउँमा पुग्ने गरेको छ ।’

पालिका स्तरीय बाल सञ्जालका नवनिर्वाचित अध्यक्ष लोकमाया परियारलाई प्रमाणपत्र दिँदै राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिक, वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारु, बेसका कार्यक्रम निर्देशक पिंकी डाँगीलगायत ।

Womui
Womui