सामाजिक परीक्षणका विषयमा अभिमुखीकरण

58

बाँके (नरैनापुर)–नरैनापुर गाउँपालिकामा सरोकारवालालाई सामाजिक विषयमा अभिमुखीकरण गरिएको छ । सामाजिक परीक्षण के हो ? सामाजिक परिक्षण किन गरिन्छ, सामाजिक परीक्षणका उद्देश्य र सामाजिक परीक्षणका प्रक्रियालगायतका विषयमा भ्रष्टाचारविरुद्ध क्रियाशील गैरसरकारी संस्था बासले अभिमुखीकरण गरेको हो ।
सामाजिक परीक्षणका विषयमा गाउँ कार्यपालिका पदाधिकारी र कर्मचारीलाई बासका निर्देशक हेमराज भट्टले जानकारी गराएका थिए ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष शाहले गाउँपालिकाले गरिरहेको कामको प्रभावकारिता मापनका लागि भइरहेको सामाजिक परीक्षणमा आवश्यक सहयोग गर्न सरोकारवालालाई अनुरोध गरे । सामाजिक परीक्षणले गाउँपालिकाको सेवालाई थप प्रभावकारी बनाउने भन्दै आवश्यक सुझाव दिन आग्रह गरेका छन् ।
त्यसैगरी कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले गाउँपालिकामा सुशासन र पारदर्शीता कायम गर्न सामाजिक परीक्षण जस्ता औजारहरु आवश्यक हुने बताए । हालसम्म जे जस्तो काम गाउँपालिकामा भए पनि अब गाउँपालिकामा सुशासन र पारदर्शिता कायम गर्दै अगाडि बढ्ने बताउँदै सबैको सहयोग र सहकार्य जरुरी रहेको उनले बताए । सामाजिक परीक्षणले गाउँपालिकाको आन्तरिक मूल्याङ्कनमा समेत सहज हुने अधिकृत शाहीले बताए ।

Womui
Womui