मधेसमा लगामविहीन उग्रता

108
लहान, भदौ २५-
संघीय प्रदेशको खाकाप्रति विरोध जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन मधेस बन्दको तीन सातासम्म सिरहाको लहान शान्तिपूर्ण थियो। हरेक दिन दिउँसो तीन बजे शान्तिपूर्ण जुलुस निकालेर कोणसभामा स्थानीय नेताले मन्तव्य राखेपछि कार्यक्रम सकिन्थ्यो। २३ औं दिन अचानक बुधबारबाट आन्दोलनको स्वरुप एकाएक फेरियो– प्रदर्शनकारीले सडकमा रुख ढालेर अवरोध गरे, सुरक्षाकर्मीले हस्तक्षेप गर्दा स्थिति झडप र हिंसात्मक स्वरुपमा परिणत भयो। प्रहरीले गोलीले तीन जनाले ज्यान गुमाए, दर्जनौं घाइते भए। लहानको शान्तिपूर्ण छवि क्षणभरमै बिलायो। प्रदर्शनले झन् उग्र रुप लिँदै गयो।
प्रदर्शनकारीले सहिदचोक दक्षिणको होटल मारुती, एनसिसी बैंक, सोसियल डेभलपमेन्ट बैंक र एक निजी घर तोडफोड गरे। मारुती होटलको छतबाट सुरक्षाकर्मीले गोली चलाएपछि तोडफोड गरेको प्रदर्शनकारीको दाबी स्ववयं होटल सञ्चालक मान्दैनन्। ‘होटल पूर्ण रूपमा बन्द थियो, कुनै सुरक्षाकर्मी प्रवेश गरेका थिएनन्,’ होटल सञ्चालक रामसुन्दर चौधरी भन्छन्। त्यस दिन सुरक्षाकर्मीले होटलबाट गोली चलाएको आरोप लगाएपछि होटल सञ्चालकले आन्दोलनकारीलाई भित्र लगेर खानतलासी गर्न दिएका थिए। तर, त्यहाँ सुरक्षाकर्मी भेटिएनन्। चौधरीले भने, ‘आन्दोलनकारीले होटल पसेर खोज्दा प्रहरी भेटेनन्, अनाहकमा तोडफोड गरे।’
घर, बैंक, होटललगायत निजी सम्पत्ति तोडफोडलाई
जिल्ला उद्योग वाणिज्य संघ लहानका अध्यक्ष सुनिलकुमार महतो जुनसुकै शब्दले निन्दा गरे पनि अपूरो हुने बताउँछन्। ‘शान्तिपूर्ण आन्दोलन र प्रदर्शनमा व्यापारीको समेत साथ सहयोग थियो,’ उनले भने, ‘बुधबार रातिको घटनाले हामीलाई स्तब्ध बनाएको छ । यो आन्दोलन शान्तिपूर्ण हो कि अराजक भनी सोच्न बाध्य छौं।’ आन्दोलनका अगुवाले तोडफोडको जिम्मेवारी लिनुपर्ने उनको धारणा छ। आन्दोलनकारी दल संघीय समाजवादी फोरम, नेपालका केन्द्रीय सदस्य राजलाल यादव आफूहरूले शान्तिपूर्ण आन्दोलन गरिरहेको र हिंसा मच्चाउने कुनै उद्देश्य नरहेको बताउँछन् ।
उनी भन्छन्, ‘हाम्रो उद्देश्य हिंसात्मक आन्दोलन, अराजकता मच्चाउने होइन। लहानमा बुधबार कसरी तोडफोड भयो, आफैं चकित छु।’  अन्दोलनकारी घटक दलकै यी नेताको भनाइले संकेत गर्छ– मधेस आन्दोलन पछिल्लो चरणमा अनियन्त्रित हुँदै गएको छ।  सिरहाका अर्का नेता पनि यिनको भनाइमा सहमत छन्। ‘शान्तिपूर्ण आन्दोलनमा अशान्ति मच्चाउनेहरू पनि सहभागी भएपछि चिन्तित भएका छौं,’ ती नेताले भने । बुधबार शान्तिपूर्ण विरोध सभापछि अचानक केही व्यक्तिले सडकमा रुख ढाल्ने र अशान्ति मच्चाउने गर्न थालेपछि अवस्था अनियन्त्रित भएको एक प्रत्यक्षदर्शीले सुनाए।

Womui
Womui