संविधान लेखन प्रक्रियामा कांग्रेसभित्रै अलमल

22
काठमाडौं- भदौ २५
नेपाली कांग्रेसभित्र संविधान निर्माण प्रक्रिया अघि बढाउने कि स्थगित गरेर आन्दोलनरत पक्षसँग वार्ता गर्ने भन्नेमा विवाद देखिएको छ। कांग्रेसका प्रभावशाली नेताहरू नै संविधान निर्माण प्रक्रियालाई कसरी अघि बढाउने भन्नेमा पक्ष–विपक्षमा उभिएका छन् । बिपी कोइरालाको १०१ आंै जन्मजयन्तीका अवसरमा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति सुशील कोइराला, महामन्त्रीद्वय प्रकाशमान सिंह र केन्द्रीय सदस्य महेश आचार्यले संविधान निर्माण प्रक्रियालाई रोक्न नहुने तर्क गरे।
उनीहरूले संविधान निर्माणको अर्को विकल्प नभएको तर्क गर्दै सबैका मागलाई सम्बोधन गर्न नसकिने धारणा राखे। तर केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, रामशरण महत, गोपालमान श्रेष्ठले संविधान निर्माण प्रक्रिया केही दिन स्थगित गरेर आन्दोलनरत पक्षसँग वार्ता थाल्न नेतृत्वलाई आग्रह गरे। प्रधानमन्त्री कोइरालाले संविधान निर्माण प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्या्एरै छाड्ने बताए। ‘संविधान सहमतिको साझा दस्तावेज हो,’ कोइरालाले भने, ‘लोकतन्त्रमा सबैभन्दा ठूलो निर्णय लिने थलो संविधानसभा हो, त्यसबाटै समाधान खोजौं।’ संविधान निर्माण नभएसम्म आन्दोलनका उपलब्धि संस्थागत हुनै नसक्ने जिकिर गर्दै कोइरालाले भने, ‘सिद्धान्तका नाममा व्यवहार र व्यवहारका नाममा सिद्धान्तलाई भुल्ने काम कसैले नगरौं।’ 
आन्दोलनरत पक्षसँग सरकार र प्रमुख राजनीतिक दल इमानदारीका साथ वार्ता र संवादका लागि तयार रहेको सुनाउँदै उनले सहमतिबाट समाधान खोज्न आन्दोलनरत पक्षलाई आग्रह गरे। ‘आन्दोलनरत दलहरूलाई वार्ताका लागि आह्वान गरिएको छ,’ उनले भने, ‘हामी संविधानसभाकै माध्यमबाट संविधान निर्माण प्रक्रियालाई टुंग्याउन लागिपरेका छौं। छलफलबाटै समस्याको टुंगो लाग्छ।’ संविधानसभामा स्पष्ट दुई तिहाइ कुनै पनि दलको नभएकाले नयाँ संविधान दलहरूबीचको सम्झौतापत्र बन्ने बताउँदै कोइरालाले संविधान निर्माणको यस चरणलाई अन्तिम लेनदेनको समयका रूपमा उपयोग गरी हत्या, हिंसा र आतंक त्यागेर वार्तामा आउन आग्रह गरे। समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Womui
Womui