डुडुवाको घरदैलोमा सामाजिक सुरक्षा भत्ता

59


बाँके (डुडुवा)– चाडपर्वलाई लक्षित गरी डुडुवा गाउँपालिकाको ६ वटै वडामा शुक्रबारदेखि सामाजिक सुरक्षा (ज्येष्ठ नागरिक) भत्ता वितरण सुरु गरेको छ । आर्थिक वर्ष २०७७।०७८ को प्रथम चौमासिक अन्तर्गत साउनदेखि कार्तिकसम्मको भत्ता गाउँपालिकाले घरमै गएर वितरण गर्न थालेको हो ।
गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वार्ड नम्बर २ का ज्येष्ठ नागरिक बदलु शर्मालाई रकम हस्तान्तरण गर्दै भत्ता वितरणको शुभारम्भ गरे । त्यस अवसरमा बोल्दै उनले गाउँपालिकाले विगतदेखि नै ज्येष्ठ नागरिकको सम्मान गर्दै घरघरमा पुगेर रकम वितरण गर्दै आएको र अहिले चाडपर्व र कोरोना संक्रमणको महामारीका बेला उत्पन्न आर्थिक संकटको अन्त्य गर्न यो भत्ताले राहत दिने विश्वासले वितरण गरिएको बताए । अध्यक्ष चौधरीले आंशिक अपाङ्गता भएकालाई आर्थिक सहयोग गाउँपालिकाले आफ्नै स्रोतबाट उपलब्ध गराएको भन्दै ज्येष्ठ नागरिकको पूर्ण रूपमा निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न लागेको समेत जानकारी दिए ।
गाउँपालिकाले प्रत्येक वडामा ३ जनाका दरले ६ वटै वडामा १८ वटा टोलीमा ७० जना कर्मचारी घटाएको प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले जानकारी दिएका छन् । अधिकृत उपाध्यायका अनुसार गाउँपालिकाले ६ वटै वडामा ज्येष्ठ नागरिक, बालबालिका, दलित, अपाङ्ग, एकल महिला, विधुवा गरी तीन हजार ९ सय जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नेछ ।
७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई प्रति महिना तीन हजार, ६० वर्ष पुगेका ज्येष्ठ नागरिक दलित, ६० वर्ष पुगेका ज्येष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना दुई हजार रुपैयाँ, पूर्ण अपाङ्गता भएका व्यक्ति (क) वर्गलाई प्रति महिना तीन हजार, अपाङ्गता भएका व्यक्ति (ख) वर्गलाई प्रति महिना एक हजार ६ सय, जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई प्रतिमहिना चार सयका दरले रकम वितरण गरिने वडा सचिव शिवपाल मौर्यले बताए ।
यसैगरी अपाङ्गता भएका व्यक्ति (ग) वर्गलाई प्रति महिना पाँच सय र (घ) वर्गलाई चार सय प्रतिमहिनाका दरले गाउँपालिकाले आफ्नै स्रोतबाट वितरण गरिरहेको छ ।

Womui
Womui