नरैनापुरमा हेल्प डेस्क सञ्चालन

55
नागरिक सहायता कक्ष उद्भाघटन गर्दै नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह र बासका कार्यबाहक अध्यक्ष लुना बुढाथोकी ।

बाँके –नरैनापुर)–बाँकेको नरैनापुर गाउँपालिकामा नागरिक सहायता कक्ष (हेल्प डेस्क) सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रमका बीच नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नागरिक सहायता कक्ष उद्घाटन गरेका हुन् ।
बासद्वारा सञ्चालित हेल्प डेस्क उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका प्रमुख शाहले हेल्प डेस्क सञ्चालनपश्चात् गाउँपालिकाको सेवाप्रवाहमा थप सुधार र व्यवस्थित हुने बताए । गाउँपालिकामा आउने सेवाग्राहीले छिटोछरितो सेवा पाउने वातावरण हेल्प डेस्कमार्फत् मिलाउन उनले बासलाई अनुरोध गरे । बासले विगतका वर्षदेखि गाउँपालिकामा विभिन्न कार्यक्रमहरु गर्दै आएको भन्दै हेल्प डेस्क कार्यक्रम गाउँपालिकाकै सफल र प्रभावकारी कार्यक्रम बन्ने उनको विश्वास थियो ।
बासका केन्द्रीय महासचिव शिवकुमार बर्माले उद्घाटन गरेको कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै गाउँपालिकाकाको सेवा प्रवाहमा हेल्प डेस्क सहजकर्ताले पूर्ण सहयोग गर्ने प्रतिबद्धता गरे । उनले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए । हेल्प डेस्क उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय यादव, शाखा अधिकृत मकबुल अहमद मुकेरी, बासका कार्यवाहक अध्यक्ष लुना बुढाथोकी, महासचिव शिवकुमार बर्मा, बासका निर्देशक हेमराज भट्ट, सहजकर्ता शोभा थापा मगरको उपस्थिति रहेको थियो । बासका सहजकर्ता शोभा थापा मगरले सञ्चालन गरेको उद्घाटन कार्यक्रमको धन्यबाद ज्ञापनसहित समापन बासका कार्यवाहक अध्यक्ष लुना बुढाथोकीले गरेका थिए ।
नरैनापुर गाउँपालिकाको सहयोगमा सञ्चालित नागरिक सहायता कक्षको व्यवस्थापन बासले गर्ने छ । बासले बाँकेको नेपालगन्ज उपमहानगरपालिका र वडा, राप्ती सोनारी गाउँपालिका, डुडुवा गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र भन्सार कार्यालयमा हेल्प डेस्क कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Womui
Womui