डा. केसीलाई अनसन तोड्न सरकारको आग्रह

131

काठमाडौं– चिकित्सा क्षेत्रको विकृतिविरुद्ध २७ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीसँग सरकारले अनसन तोड्न माग गरेको छ । डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच शनिबार समेत सहमति हुन नसकेपछि सरकारले अनसन तोड्न आग्रह गरेको हो ।

वार्ता सफल हुन नसकेपछि शिक्षा सचिव गोपी मैनाली नेतृत्वको सरकारी वार्ता टोलीले शनिबार एक वत्तव्य जारी गरेर डा. केसीलाई उक्त आग्रह गरेको छ । सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानमा चिकित्सा शिक्षाका विभिन्न तह तथा विषयका शैक्षिक कार्यक्रम सञ्चालन गर्न सालबसाली बजेट विनियोजन गरेर योजनाजद्ध रुपमा काम भइरहेको भन्दै सरकारी वार्ता टोलीले अनसन तोड्न माग गरेको हो ।

सरकारका अनुसार गेटा मेडिकल कलेज भवन र अस्पताल भवन निर्माण सम्पन्न भइसकेको र अन्य पूर्वाधार निर्माण भइरहेकोले क्रमिक रुपमा डा. केसीका माग सम्बोधन भइरहेको छ । सरकारी वार्ता टोलीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबीबीएस कार्यक्रम सञ्चालन गर्न चिकित्सा शिक्षा आयोग समक्ष स्वयम् मूल्याङ्कन प्रतिवेदन पेश भइसकेको छ । प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्न बर्दिबास, बुटवल र सुर्खेतमा जग्गा प्राप्ति र गुरुयोजना स्वीकृत भइसकेको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतिको अन्तिम चरणमा रहेको वार्ता टोलीले उल्लेख गरेको छ ।

डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज खोल्न प्रारम्भीक सम्भाव्यता अध्ययन भएर प्रतिवेदन आइसकेको सरकारी टोलीले उल्लेख गरेको छ । सप्तरीमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास समिति बनिसकेको सरकारी वार्ता टोलीले दाबी रहेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबीबीएसलगायतका कार्यक्रम सञ्चालन गर्न गुरुयोजना पारित भइसकेको जानकारी दिँदै वार्ता टोलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सुरु भएको बताइएको छ ।

Womui
Womui